काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रदेश नम्बर १ को नामाकरण सन्दर्भमा तत्कालीन केपी शर्मा ओली सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् ।
मंगलबार आयोजित संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको छलफल कार्यक्रममा मुख्यमन्त्री राईले तत्कालीन ओली सरकारले प्रदेश नामारकण गर्न नसकेको र अहिले आएर आफ्नो काँधमा बन्दुक राखे पड्काउने षड्यन्त्र रचेको आरोप लगाए ।
उनले भने, `नाम टुंग्याउने विषयमा केन्द्रको निर्देशनको परिकल्पना नै छैन । नाम टुंग्याउने विषयमा संविधानमा , ह्वीपको परिकल्पना पनि छैन । ४ वटा विषयमा ह्वीप लाग्ने भन्ने जुन मान्यता छ, त्यसमा पनि यो विषय पर्दैन । तेस्रो नेताले आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ?,’ उनले भने ।
मुख्यमन्त्री राईले यसअघि तत्कालीन ओली सरकारले चाहेको खवस्थामा प्रदेशको नामाकरण गर्न सक्ने अवस्था रहेको पनि बताए । तर, त्यतिबेला प्रदेशको नामाकरण गर्न नसकेर अहिले आफ्नो आलोचना गरेको पनि उनले आरोप लगाए ।
उनले भने, `तपाईंहरुलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैन थियो । त्यति बेला घोषणा गर्न नसक्ने, अघि देखेर छाती थाप्न नसक्ने, आलोचना खेप्न नसक्ने, अहिले मुख्यमन्त्रीलाई अघि होमिदिएर त्यसको आलोचना मैले खेप्नुपर्ने ? अर्को सांसदलाई आलोचनाको सिकार बनाउने ? यी कारणले गर्दा नाम राख्न अफ्ठ्यारो भएको छ।’