बुटवल । मृतकलाई जिवित बनाएको भनेर प्रचार गर्ने बुटवलको होली क्यालभरी चर्चका पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बुटवल उपमहानगरपालिका–११ बुद्धनगरबाट खटिएको प्रहरी टोलीले ३५ वर्षीय पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पास्टर गोतामेलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिएको छ । आइतबार सार्वजनिक भएको साढे २ मिनेटभन्दा लामो भिडियोमा गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको भनेर देखाएका छन् ।
भाइरल भिडियोमा भुइँमा लमतन्न ‘मृत’ महिला सुतेकी छन् । उनलाई मृतक नै देखाइएको छ । तर, पास्टर गोतामेले मृतक महिलालाई तन्त्रमन्त्र गरेको केही समयमै मृत महिला उठेर सरासर हिँडेको भिडियोमा देखिन्छ । लगत्तै पास्टर गोतामेले प्रभु यशूले नयाँ जन्म दिनुभएको भन्दै महिलालाई यशूलाई धन्यवाद दिन भिडियोमा भनेका छन् ।
साथै, भिडियोमा नजिकै बसेकी एक महिलाले सयौँ धामीले निको पार्न नसकेको, झण्डै ६ लाख खर्च गर्दा पनि महिला निको नभएको भन्ने बोलेको सुनिन्छ । यसैगरी मृतक महिला उठेपछि सबैले एकसाथ ताली पनि बजाएकाे भिडियाेमा देखिन्छ ।
सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएपछि उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले भिडियो सार्वजनिकपश्चात् फेसबुक एकाउन्ट पहिचान गरेर अनुसन्धान थालेको थियो ।
भिडियाे विवेक सत्यालकाे फेसबुकबाट साभार