रौतहट । बर्दी लगाएर स्टेजमा अश्लिल हाउभाउसहित नृत्य गरेपछि रौतहटमा एक प्रहरी अधिकारी विवादमा तानिएका छन् ।
रौतहट जिल्लाको गढिमाइ नगरपालिका वडा नम्बर ७ धर्मपुर चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक (सई) राजकिशोर साह प्रहरीकै बर्दी लगाएर सार्वजनिक स्थानमा नाचेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
भिडियोमा साह दुई जना तेस्रो लिङ्गी कलाकारहरुसँग जोसिएर नाचेका छन् । नाँच्ने क्रममा उनी कहिले ती कलाकार माथि चढेका छन् त कहिले कलाकारलाई कम्मरमा बोकेका छन् ।
आफूले लगाएको प्रहरी बर्दीको ख्यालै नगरी नाँचमा मस्त साहमाथि एकजना नाँच्ने कलाकार चढेर नाँचेको दृश्य एकदमै अशोभनिय देखिएको छ । उनले प्रहरी चौकी अगाडि लागेको मेलाको क्रममा यो हर्कत गरेको बुझिएको छ । साहको यस्तो भिडियो सार्वजनिक भएपछि उनलाई कारवाही हुनुपर्ने भन्दै माग सर्वसाधरणले गरेका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर बुढामगरले आफूले यस घटनालाई एकदमै गम्भीर रुपमा लिएको बताउँदै ती नाँच्ने प्रहरी अधिकारीमाथि छानविन गर्ने बताएका छन् ।
उनले प्रहरीको अनुशास भित्र नबस्ने प्रहरी कारवाही भागिदार हुने भन्दै यस विषयमा अनुसन्धान गरिरहेको जनाए । उनलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडमा तानिएको प्रहरीले जनाएको छ ।
के भन्छन् नाँच्ने साह ?
बर्दीमै स्टेजमै नाचेको भिडियो सार्वजनिक टेलिफोन सम्वाद गर्दै प्रहरी नायव निरीक्षक राजकिशोर साहले आफूलाई नियतवश फसाइएको दावी गरेका छन् । उनले आफू नाँच्न स्टेजमा चढेको नभई साँझ पर्न लागेकाले मान्छेको भीड हटाउँदै मेला र नाँच बन्द गराउन चढेको बताउँदै आफ्नो नियत सफा भएको दावी गरे ।
‘म भीड हटाउन स्टेजमा चढिरहँदा तेस्रो लिङ्गी भाइहरुले तानेर नाँच्न भनेको तर म नाचेको होइन्’ उनले भने , ‘मलाई घाँटी समातेर नाँच्ने भाइहरुले पछारिदिए पनि म नेपाल प्रहरीको ‘मुस्कान सहितको सेवाको नारा’ सम्झेर चुप लागेर बसेको हुँ । उनीहरुलाई मैले कुटेको भए, झगडा गरेको भए, रिसाएको भए मलाई झनै भाइरल गरिदिन्थे ।’
उनले आफूले त्यस्तो काम जानेर नगरेको बताउँदै २५ वर्षे जागिर अवधिमा सँधै राम्रो काम मात्र गरिरहँदा कहिले भाइरल नभएकोमा गुनासो गरे ।
‘म त नाँच्ने भनेर स्टेज चढेकै होइन, मलाइ त पछाडिबाट एउटा भाइले धक्का दियो तर म भाग्न खोजे तर तेस्रो लिङ्गी कलाकार भाइहरुले हात तानेर नाँच्न भने’ उनको दावी थियो, ‘ मलाई नाँच्न आउने भए त म पुलिस क्लवमा जान्थे कहाँ यहाँ बसिरहन्थे । म त नाँच्न होइन सम्झाइ बुझाइ गरेर नाँच बन्द गराउन गएको थिएँ ।’