गठबन्धनले नागरिकता विधेयक हुबहु अघि बढाउने
  • मूलधार

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनले नागरिकता विधेयक संघीय संसद्बाट हुबहु पास गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर राजनीतिक कदम उठाएको निष्कर्ष निकाल्दै संशोधनबिनै फेरि संघीय संसद्बाट पारित गरेर प्रमाणीकरणका लागि पठाउने समझदारी गरेका हुन्।

बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयकलाई संसद्को प्रक्रियामा अघि बढाउने सहमति शीर्ष नेताहरूबीच भएको जानकारी दिए। ‘राष्ट्रपतिले संवैधानिक अधिकारअनुसार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधानबमोजिम संसद्ले पुनर्विचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नैपर्ने व्यवस्था भएबमोजिम फिर्ता आएको छ’, मन्त्री कार्कीले भने, ‘उक्त विधेयकलाई संसद्मा तत्काल प्रक्रिया अघि बढाउने सहमति भएको छ।’

संघीय संसद्ले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्। त्यसप्रति असन्तुष्ट गठबन्धनका शीर्ष नेताहरूले यसअघि पारित विधेयकमा राष्ट्रपतिले उठाएका प्रश्न र सवाललाई सम्बोधन नगर्ने निष्कर्ष निकालेका छन्।

विगतमा केपी ओली नेतृत्वको सरकारले अहिलेकै विधेयकमा रहेका प्रावधानसहित लगेको अध्यादेशमा राष्ट्रपतिले कुनै प्रश्न नगरी तत्काल प्रमाणित गरेको भन्दै गठबन्धनका नेताहरूले संघीय संसद्बाट पारित विधेयकलाई १५ दिन अड्काएर फिर्ता पठाउने निर्णय राजनीतिक र पूर्वाग्रहपूर्ण भएको निष्कर्ष निकालेका छन्।

राष्ट्रपतिले तटस्थ भूमिका निर्वाह गर्नुको साटो पूर्वपार्टी एमालेको पक्ष लिएको आरोप लगाउँदै एक नेताले भने, ‘नागरिकता विधेयकमा कुनै परिवर्तन हुन्न। हुबहु संघीय संसद्बाट पारित गरेर फेरि प्रमाणीकरणका लागि पठाउने छौं।’ राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकतासम्बन्धी विधेयकसहितको सन्देश मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस भएको छ।

त्यस्तै संक्रमणकालीन न्यायलाई तत्काल टुंगोमा पुर्‍याउने समझदारी गर्दै शीर्ष नेताहरूको बैठकले त्यससम्बन्धी ऐनमा आवश्यक संशोधन गर्ने समझदारी गरेका छन्।

  • August 17, 2022 प्रकाशित
  • सम्बन्धित