चुनाव चिन्ह ‘हँसिया हथौँडा’ लिएर चुनाव लड्न पाएपछि बाबुराम खुसी
  • मूलधार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको हँसिया–हथौँडा लिएर प्रतिस्पर्धा गर्न पाएकोमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गम्भीरता र खुसी व्यक्त गरेका छन् ।

डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नयॉ यात्राको शुरूवातमा गम्भीरता र खुशी ! नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी वीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनावचिन्ह (गोलाकारभित्रको हॅसिया–हतौडा) लिएर लड्ने सहमति !’

मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा.भट्टराईले संयुक्त दल दर्ता गरेर चुनावमा जाने सहमति गरेका छन् । सहमतिसँगै डा.भट्टराईले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिँदै छन् ।

दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएपछि संयुक्त रुपमा दल दर्ता पनि गरिएको छ। मंगलवार बिहान माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा.भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।

  • August 16, 2022 प्रकाशित
  • सम्बन्धित