मस्तिष्कमा गाईलाई आमाको बिम्व बनाएर कहिलेसम्म हिडाइरहने ? : मुक्तान थेबा (भिडियाे)
  • मूलधार

कवि मुक्तान थेबा फूलको कविता लेख्न चाहँदैनन्, विभेदको कविता लेख्छन् । श्रम गर्ने तर सधैँ समाजबाट उपेक्षा र दमनमा पारिएका बांगे सार्कीहरुका कविता लेख्छन् थेबा । गलत इतिहास लेख्ने र लेखाउनेविरुद्ध थेबाको कलम रोकिएको छैन । स्वतन्त्रताको वकालत गर्ने तर, पूर्ण स्वतन्त्र नदिलाउने राज्यविरुद्ध पछिल्लो समय थेबा कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । थेबाको पहिलो मुद्धा र माग हो, आदिवासी जनजतातिको संस्कारमै राज्यको दमन छ र कुनै पनि अवस्थामा मुक्ति दिलाउनुपर्छ ।

राज्यविरुद्ध मुक्तान थेबाको अर्को असन्तुष्टि छ, आहारविहार । संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनजातिले खाँदै आएको गाई, गोरुको मासुमाथि ऐन बनाएर राज्यले झन् विद्रोह जन्माउन खोजेकोमा थेबा आक्रोश व्यक्त गर्छन् । खानपिनमै रोक लगाउने राज्यले देश सञ्चालन गर्न कसरी सक्छ ? थेबा राज्य सत्तामा बस्नेहरुसँग प्रश्न गर्छन्, ‘गाईको मासु खाने आदिवासीहरुलाई जेल चलान गरिन्छ । यसको राजनीतिक कारण के हो ? राष्ट्रिय जनावरलाई गाई बनाउनुको पछाडि राजनीतिकरण के छ ? मस्तिष्कमा गाईको बिउ बोकाउने र गाईलाई आमाको बिम्व बनाएर हिडाइरहने ?’

राष्ट्रिय जनावरलाई काट्न नहुने, नपाउने नियम कहिँकतै नभएको र राज्यले एकतन्त्रीय शासन लाद्न षड्यन्त्र रचेको थेबाको बुझाइ र आरोप छ । उनका अनुसार गाई राष्ट्रिय जनावर हुँदैमा, गोरुलाई काट्नै नहुने हो ? होइन । अमेरिकाको राष्ट्रिय विषन साँढे हो । तर, वर्षमा हजारौँ विषन साँढे खानलाई पालिन्छ, काटिन्छ र महंगो मूल्यमा त्यसको मासु बेचिन्छ ।

थेबा अझ प्रश्न गर्छन्, ‘अष्ट्रेलियालाई हेर्दा राष्ट्रिय जनावर कंगारुको मासु खाइन्छ । नेपालमा चाहिँ परापूर्वकालदेखि खाँदै आएको गाईको मासु खान नमिल्ने विभेद किन ? मानव सभ्यता के हो ? आहारविहार के हो ? नबुझ्ने ?’

थेबा कुनै समय हिन्दू समुदायले पनि प्रिय मासुका रुपमा गाई, गोरुको मासु खाने गरेको सुनाउँछन् । उनका अनुसार त्यतिबेलाको समाजमा यो गाई, गोरु भन्ने थियो र ? किरात, तामाङ, लिम्बू समुदायले कूल पूजा गर्दा अनिवार्य गोरुको मासुलाई बञ्चित गरेर ‘हिन्दूवाद’ लाद्न खोज्नु बहुपहिचान मुलुक नेपाल कसरी भयो ? प्रश्न गर्छन् थेबा ।

राज्यविरुद्ध सिंघौरी खेल्न पछि हट्न नचाहने मुक्तान थेबा खास कित यतिसाह्रो विद्रोही र क्रान्तिकारी छन् ? उनी खास के बुझाउन र सन्देश दिन चाहिँरहेका हुन् ? मूलधार बहसको यो शृंखलामा उनलाई मूलधारकर्मी सुदिप राई प्रश्न गरेका छन्- ‘राष्ट्रिय जनावर किन काट्ने ?’

  • August 16, 2022 प्रकाशित
  • सम्बन्धित