काठमाडौं । महोत्तरीको जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह) न्याय माग्दै काठमाडौंमा भौतारिरहेका छन् ।
२१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै निहारिकाले २९ महिनादेखि न्यायको भिख मागरिहेका छन् । अड्डा अदालत धाइरहेकी छन् । आफ्नो बोली कसैले नसुनेपछि आमरण अनसनको बाटो रोज्न बाध्य भएको उनी बताउँछन् । आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।
०७६ कात्तिक ६ गते धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको भन्दै उनले ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन् । जाहेरी दर्तापछि शिवराज पक्राउ परे । पुर्पक्षका लागि जेल चलान पनि भए । ०७८ माघ २४मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको फैसला सुनायो । पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटे ।
शिवराज छुटेपछि निहारिकाले न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामा अनसन बसिन् । प्रहरीको हस्तक्षेपपछि उनको अनसन बिथोलियो । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि विक्षिप्त बनेकी उनी अहिले उच्च अदालतमा मुद्दा लडिरहेकी छन् । उनले फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेकी छन् ।
उनी अहिले काठमाडौंमा न्याय माग्दै भौतरिरहेकी छन् । आफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने र आफूलाई बलात्कार गर्नेमाथि कारवाही हुनुपर्नेलगायतका माग राख्दै आएकी छन् । गत असार दुई गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भयो । सहमतिपछि उनले अनसन तोडिन् ।
प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षण गर्ने, उनको र छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह र महिला बालबालिका मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति भएको थियो ।
सरकारले उक्त सहमति पालना नगरेपछि उनी फेरि अनसन बसिन् । साउन २२ गते सर्वोच्चले अदालतको गेटमा अनसन बस्न गइन्, त्यहाँबाट प्रहरीले हटायो । त्यसपछि सिंहदरबारको दक्षिण गेटमा आमरण अनसनमा बसेकी उनलाई प्रहरीले नियन्त्रणमा लियो । महिनौंको चित्कार कसैले नसुनेपछि आत्मदाहको स्थितिमा समेत पुगिन् । गत शुक्रबार उनले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरिन् । एक बोतल पेट्रोल आफ्नो शरिरमा खन्याइन् । अर्का बोतल खन्याएर शरीरमा आगो लगाउने योजनामा थिइन् । तर, उनलाई प्रहरीले देख्यो । र, बचायो ।
शिवराज डीएनए परीक्षण तयार
निहारीकाले बलात्कारको आरोप लगाएका शिवराज श्रेष्ठ आफू डीएनए परीक्षण तयार रहेको बताएका छन् । उनले निहारिकासँग भएको बच्ना आफ्नो नभएको दाबी पनि गरे ।
उनले भने, ‘निहारीकाले जुन माग उठाइरहेकी छन्( मेरो डिएनए टेस्ट गर्नुपर्ने माग उठाइरहेका छन्, म रेडी छु । उसलाई डिएनए टेस्ट गराउनु छ भने प्रक्रिया अगाडि बढाउनुपर्ने नि । काठमाडौंमा अनसन बसेर मात्रै त हुँदैन । सुरुदेखि नै डिएनए टेस्ट गराउन रेडी छु भन्दै आएको छु ।’ निहारिकासँग आफ्नो प्रेम सम्बन्ध भएको पनि शिवराजले स्वीकारे । उनले भने, ‘उसको (निहारिका) र मेरो प्रेम सम्बन्ध थियो । साथीबाट सुरुमा चिनेका थियौँ । पछि कुरा हुँदै गयो । हाम्रो प्रेम पनि बस्यो । साढे तीन चार महिना हाम्रो प्रेस सम्बन्ध चलेको थियो ।’
प्रतिवादी रहेका शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कार आरोपमा जाहेरी दिनुअघि उनी स्वयंले त्यहाँ दुई वटा निवेदन दिएको थिइन् । जहाँ शिवराज र उनीबीचको सम्बन्ध ‘श्रीमान–श्रीमती’ रहेको सम्बोधन गरिएको छ । अस्पतालमा गर्भ परीक्षण गराउँदा पनि म्यारिटल स्टाटसमा ‘म्यारिड’ लेखेको पाइन्छ ।
‘श्रीमान– श्रीमती’ उनको जाहेरीमा मञ्जुरी विना करणी गरेर गर्भवती बनाएको बताएकी छन् । त्यसपछि आरोपितको परिवारले गर्भपतनका लागि दबाब र धम्की दिएको प्रसंग छ । शिवराजले उनलाई गर्भवती बनाएपछि अलपत्र छाडेर भागेको देखिन्छ । त्यही भएर उनी न्याय माग्न दुई पटक प्रहरी कार्यालय गएको देखिन्छ । ०७७ भदौ २७ गते शिलापत्र डटकममा प्रकाशित भएको स्टोरीमा पनि शिवाजसँगको उनको प्रेम कहानी समावेश छ ।
उनले त्यसबेला निहारिकाले भनेकी छन्– ‘हाम्रो प्रेमको विषयमा उनको घरपरिवारलाई पनि राम्ररी थाहा थियो । काठमाडौँबाट फर्किएपछि २५ दिन शिवराजकै घरमा बसेँ । त्यहीबीचमा हाम्रो सम्बन्ध पनि भयो । काठमाडौँ जाँदा एकाएक बेहोस भएँ । अस्पताल पुगेर जाँच गराउँदा गर्भ बसेको थाहा पाएपछि डरले मेरो होसहवास उड्यो ।’
गर्भवती भएपछि निहारिका आरोपित श्रेष्ठसँग मात्रै लडिरहेकी छैनन्, समाज र आफ्नै परिवारसँग पनि लडिरहेकी छन् । उक्त घटनाले समाज कस्तो भन्ने प्रस्ट्याएको छ । निहारिका त प्रतिनिधि पात्र मात्रै हुन । समाज यस्ताखाले समस्याबाट गुज्रिरहेको छ ।