काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनका आज हुँदैछ ।
टानको ४४औं साधारणसभा एवं नयाँ कार्यसमिति चयनका आज काठमाडौंको होटल ह्यात रिजेन्सीमा निर्वाचन हुँदैछ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन् । १२ सयभन्दा बढी मतदाता रहेका छन् ।
टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल सापकोटाको प्यानलसहित उम्मेवारी मनोनयन हुनेछ भने बोधराज भण्डारीले अध्यक्ष स्वतन्त्र उम्मेदवारी मनोनयन गर्ने जनाइएको छ ।
बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् ।
यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।
अध्यक्षका प्रत्यासी बाँस्तोलाले टान अध्यक्षसहित पादाधिकारी र सदस्य पदको निर्वाचनका लागि समयमै उम्मेदवारी मनोनयन गरिएको जानकारी दिए । त्यसैगरी सापकोटा प्यानलले पनि केहीबेरमै उम्मेदावरी दर्ता गराउने तयारी गरेको जनाइएको छ ।
अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा (एमाले) निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी सहकार्य गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) निकट व्यवसायी सापकोटा र स्वतन्त्र उम्मेदवारका रूपमा भण्डारीको प्रतिस्पर्धा हुनेछ ।
टानको केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । जसमध्ये वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा नौ जना (महिला एक जना र खुला सदस्य आठ जना) सदस्य रहेका छन्।
टानको २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा एक हजार आठसय ५० हाराहारी व्यवसायी आबद्ध छन् ।