काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको महानगरका सडकमा थुप्रिएको फोहोर हटाउन श्रमदान गर्ने भन्दै व्यंग गरेका छन् ।
आइतबार उपमहानगरको काम लिएर काठमाडौं आएका मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’
उनले फेसबुकमा व्यंग्य गरेको भए पनि मेयर शाहले अनुरोध गरे साँच्चै श्रमदान गर्न पनि आफू तयार रहेको उनको भनाइ छ । ‘म दुई–तीन काठमाडौंमै बस्छु । मेयर बालेन शाहले भन्नुभयो भने श्रमदान गर्न पनि तयार छु ।’ धरानमा खानेपानीको अभाव पूर्ति गर्न साम्पाङले अहिले श्रमदान अभियान चलाइरहेका छन् ।