कमल तामाङ : जस्को ‘ओर्जिनल’ नाम नै हरायो !

संवाद

  • नवीन चाम्लिङ

नुवाकोटे टाइगर उर्फ कमल तामाङ । जस्को नाम अहिले कमल हराएर टाइगर बनेको छ । नाम सुन्दा जति दमदार लाग्छ उति नै उनलाई भेट्दा मज्जा र डर पनि लाग्छ । किनकि उनी रिङका ‘टाइगर अर्थात् बाघ’ हुन् । उनी भन्छन्, ‘रिल र रियल लाइफ फरक हुन् ।’ ज्यांगो र खाइलाग्दो ज्यान भएका उनी नेपालका चर्चित रेस्लर हुन् । जस्ले अहिले नेपाली रेस्लिङको रिङ तताइरहेका छन् । दर्शक उफारिरहेका छन् ।

‘रेस्लिङ !’ शब्द सुन्नेबित्तिकै सबैलाई लाग्छ रिङमा मारपीट गर्ने खेल न हो । नेपालमा छोटो समयमै यो खेल धेरैले रुचाएका छन् र नयाँ पनि छ । तर, रेस्लिङ मारपीट गर्ने खेल नभई विशुद्ध रुपमा स्वास्थ्यका लागि र दर्शकका लागि खेलिने खेल रहेको कमल तामाङ (नुवाकोटे टाइगर)को बुझाइ छ । अहिले नेपालमा यो खेलले व्यापकता लिइरहेको छ ।

नेपालमा रेस्लिङको सम्भावना कस्तो छ ? नुवाकोटे टाइगर रेस्लिङमै होमिनु र कयौँपटक घाइते हुँदा पनि रेस्लिङमै जम्नुको कारण के ? नुवाकोटको शिवपुरी गाउँपालिका–६ का वडा सदस्यसमेत रहेका कमल तामाङसँग मुलधारले गरेको कुराकानीको संपादित अंश-

नेपालमा रेस्लिङको सम्भावना विकास कस्तो छ ?

नेपालमा रेस्लिङको सम्भावना राम्रो छ । सबैले खुबै रुचीका साथ हेर्नुहुन्छ ।

नेपालमा रेस्लिङको सुवाता कसरी भयो ?

२०७२ सालदेखि रेस्लिङ विधिगत रुपमा सञ्चालमा आएको हो । अहिले यसकै विकासमा तिव्र रुपमा लागिरहेको छु ।

कमल तामाङबाट नुवाकोटे टाइगर कसरी हुनुभयो ?

नुवाकोट जिल्लाको प्रतिनिधित्व गर्नकै लागि नुवाकोटे टाइगर नाम राखेको हुँ । तर, पछि गएर यो नाम राष्ट्रियकरण भयो ।

रेस्लिङमा कसरी लाग्नुभयो ?

बाल्यकालदेखि नै रेस्लिङमा रुची भएको कारण आकर्षित भएको हुँ । नेपालमा पनि रेस्लिङलाई नयाँ खेलको रुपमा विकास गर्छु र विश्वसामू ‘रेस्लिङ’ बाट नेपाललाई नयाँ पहिचान दिलाउनकै लागि कमलबाट नुवाकोटे टाइगर बने हुँ । बच्चैदेखिको सपना पनि साकार पार्नु छु । सानो छँदा अन्डरटेकर, रक, जोन सेनाको खेल खुबै हेर्थे । अब, विदेशी होइन स्वेदशी अन्डरटेकर, रक, जोन सेना बन्नुछ ।

रेस्लर बन्नुभन्दा पाइलट, डाक्टर बन्न पारिवारिक दबाब थिएन ?

परिवारबाट दबाब नआउने भन्ने कुरै थिएन । त्यसैले घरमा थाहै नदिइ मैले रेस्लिङ सिकेको हुँ । खेल नखेल्नु भन्ने पारिवारिक सल्लाह, सुझाव थियो । त्यसैले थाहै नदिइ रेस्लिङ सुरु गरे । तर, घरलाई लगभग एक हप्ता ‘रेस्ट’ गर्दा परिवारलाई रेस्लिङ खेलेको थाहा भएछ र नखेल्न सुझाव आयो । तर, मैले छाडिनँ ।

अहिलेसम्म कति खेल खेल्नु भएको छ ? र, यो खेलको लागि कहाँ-कहाँ पुग्नुभएको छ ?

लगभग २ सय खेल खेलिसकेको छु । मस्को, चीन र भारत गए । लगभग ३० वटा अन्तर्राष्टिय खेल खेलेको छु । नेस्नल खेल ८० भन्दा बढी खेले । समग्रमा २ सय खेल खेलेको छु । सुरु सुरुमा त अन्तर्राष्टिय खेल खेल्दा डर, उत्साह थियो । तैपनि खेल खेलि छाडे ।

यति छोटो समयमा नेपालमा रेस्लिङलाई एउटा उचाइमा पुर्याउनु भएको छ । यसको सम्भव कसरी भयो ?

नेपाल रिङ रेस्लिङ संघको कोच पनि हुँ । यसअघि जापानिज, अमेरिकन, युरोपियनसँग रेस्लिङसम्बन्धि ट्रेनिङ लिए । रेस्लिङसम्बन्धि ट्रेनिङ लिँदा धेरै टिप्स सिके । विभिन्न देशको रेस्लिङसम्बन्धि नयाँ नयाँ कुरा थाहा पाए । ‘मिक्स’ अनुभवले मलाई नयाँ अनुभव दियो । ट्रेनिङमा रेस्लिङको प्रशिक्षार्थीमा अब्बल ठहरिए । सबैले यति छोटो समयमै नुवाकोटे टाइगर कसरी हाइटमा आयो भनेर आश्चर्यचकित पनि हुनुभयो ।

खासमा यो रेस्लिङलाई कसरी बुझ्ने ? कतिपयले त यसलाई नक्कली खेल अर्थात् भनेर भन्ने गरेको पनि पाइन्छ नि ? पहिला नै योजना बनाएर रिङमा खेलिन्छ भन्ने छ नि ?

रेस्लिङ खेल नक्कली र मारपीट खेल हो भन्छन् तर वास्तवमा त्यो होइन । रेस्लिङ भनेको शारीरिक, मानसिक सबै हिसाबले तन्दुरुस्त बनाउने खेल हो । फृुटबल, क्रिकेटभन्दा रेस्लिङ अलि जोखिमपूर्ण र साहसिक खेल हो ।

रेस्लिङ आर्थिक रुपमा व्यवस्थापन गर्न गाह्रो छ । अन्य खेलभन्दा खर्चिलो भए पनि त्यहिँअनुसारको मनोरन्जन पनि त छ । रेस्लिङ भनेको कुस्तीबाट सुरुवात भएको खेल हो । पछि आधुनीकीकरण हुँदै रेस्लिङमा रुपान्तरण भएको हो । नेपाल रिङ रेस्लिङ संघ जापानीज रेस्लिङ खेलसँग मेल खान्छ । अनलाइनभन्दा पनि लाइभ रेस्लिङ खेल हेर्नको मज्जा र गहिराइ बुझ्न सकिन्छ ।

अहिले कमल तामाङले भन्दा पनि बढी नुवाकोटे टाइगरको नामले चिनिनु हुन्छ । तपाईंलाई आफ्नो वास्ताविक पहिचान हराएको जस्तो महसुस हुँदैन ?

अहिले आफ्नै नाम हरायो भन्ने लाग्छ । सबैले नुवाकोटे भनेरै बोलाउछन् । तर, ओर्जिनल नाम त कमल नै हो नि । म आफूलाई पनि अहिले त कमलभन्दा पनि नुवाकोटे टाइगर नै सही लाग्छ ।

यहाँ खेलाडी मात्रै नभएर जनप्रतिनिधि पनि हुनुहुन्छ । खेल क्षेत्रबाट राजनीतिमा चाहिँ कसरी लाग्नुभयो ?

आफ्नै गाउँलेले ‘नुवाकोटे बाबु’ अब ‘रेस्लर’ मात्र होइन जनताको सेवक पनि हुनुपर्छ भन्दै सल्लाह, सुझाव दिए पछि सोच्न बाध्य भए । र, होमिए जनताको सेवामा । वडाको विकास, समृद्धीका लागि भिजन पनि साटेको हुनाले मैले पनि सजिलै वडा सदस्यमा दाबेदारी दिए ।

सानो उपस्थिति र भिजनले वडाको विकासमा पुग्छ भने किन निर्वाचनमा नलड्ने त भन्ने सोचे पनि । निर्वाचनमा लडौँ कि नलडौँ भन्ने सोचे पनि । अन्ततः म उम्मेदवार बने । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा सदस्यमा निर्वाचित भए ।

रेस्लर कि जनप्रतिनिधि बन्न सजिलो ?

सुरुमा रेस्लिङ खेल एकदमै गाह्रो लाग्थ्यो । अहिले जनप्रतिनिधि हुँदा पनि त्यस्तै कतै फिल पनि भएको छ । तर, म आफ्नो लक्ष्य र भिजनबाट पछि हटेको छैन । वडावासीको मन जितेरै जानेछु । खेल र जनप्रतिनिधिको काम गर्न सकिन्छ त भन्ने पनि नलागेको होइन । तर, इच्छाशक्ति भए सबैथोक गर्न सकिने रहेछ ।

जनप्रतिनिधि भएको नाताले रेस्लिङ खेललाई पहिचान दिलाउन कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?

यसलाई मैले गहन रुपमा लिएको छु । रेस्लिङ बाल्यकालदेखिकै चाहना हो, नसामा पनि रेस्लिङकै रगत बगिरहेको भान हुन्छ । त्यसैले एकछिनमा जनताको समस्या, मर्का बुझ्न नुवाकोट पुग्छु एकछिनमा म रिङमा भाग लिन काठमाडौ आइपुग्छु । भनौँ न क्षमता र इच्छाशक्ति नै ठूलो कुरा रहेछ ।
कमल तामाङदेखि नुवाकोटे टाइगरसम्मको यात्रालाई स्मरण गरौं न !

नुवाकोटे टाइगर बन्नुअघि धेरै ठक्कर, हण्डर र समस्या खेप्नुपर्यो । २ पटक घाइते भए । एकपटक कोखानिरको हड्डीको पाता खुस्कियो । ९ महिना रेस्ट गरे । अर्काेपटक कलर बोन फ्याक्चर भयो, १ वर्ष रेष्ट गरे । त्यतिबेला परिवारले औँधी गाली गर्नुभयो । ‘हो यहिँ अवस्था आउछ भनेर नखेल भनेको’ भन्दै घरपरिवारले हकार्नुभयो । एकपटक त परिवारको कुराले निराशा पनि भए तर, आफैँले आफैँलाई सम्झाए । र, दर्शकको मायाले फेरि एकपटक ब्यँुतिए, नुवाकोटे टाइगर बने । महाखेलाडी हुन महापीडा नै हुनुपर्नेरहेछ । जुन मैले पनि महसुश गरे । यदि मैले खेल खेल्दा त्यस्तो चुनौती, समस्या नभोगेको भए नुवाकोटे टाइगर बन्न बञ्चित हुन्थे ।

कहिलेकाही यो क्षेत्र नै छाडौँ भन्ने लाग्दैन ?

विगतका ती घटना सम्झिदा एकपटक कतै खेल मैदान छाडौँ भन्ने थियो तर नेपालको झण्डा विश्वमा फहराउने सोच मगजबाट कहिल्यै हटेन । झन् नसाजस्तै लागिरह्यो । लागिरहकोछ, लागिरहनेछ ।

रेस्लिङलाई त हिंसात्मक खेल भनेर पनि भन्ने गर्छन् नि !

जुनसुकै खेल भनेको हिंसात्मक कहिल्यै पनि हुँदैन । प्रतिस्पर्धात्मक हो । दर्शकलाई मनोरञ्जन दिने नै हो । खेल हिंसा उत्पादन गर्ने होइन स्वस्थ र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने हो । खेल भएन भने स्वास्थ्य बिग्रन्छ, स्वास्थ्य सुधार्ने खेलले नै हो । रेस्लिङ खेल त अन्य खेलभन्दा अझ झन् सशक्त खेल हो । यसमा हात, खुट्टा मात्र चलाएर मात्र हुँदैन । शरीरका सबै अवयवहरुको चलायमान भएन भने खेल खेल्नै सकिँदैन । यसकारण रेस्लिङ खेल स्वास्थ्य, मनोरञ्जन सबै दिलाउने खेल हो ।

नेपालको रेस्लिङलाई कहाँसम्म पुर्याएको सोच्नुभएकाे छ ? 

विदेशी रेस्लिङ हेर्ने मात्र होइन अब नेपाली रेस्लिङ विदेशमा देखाउने हो । यसैले अब नयाँ खेलाडी उत्पादन गर्ने सोचमा छौँ । दर्शकको अपार माया र साथले नै हामी यो खेललाई आज नेपालमा चिनाउन सफल भएका छौँ । राज्यको साथ पनि यो रेस्लिङ खेलमा छ । तैपनि उन्नति, साथ भने अलि खड्किएको हो कि भन्ने लाग्छ । खेलाडी उत्पादन र साथ सहयोगमा राज्यले दह्रो रुपमा उभिन जरुरी छ ।

डब्लुडब्लुइ जस्तो लाइभ नेपालमा कहिले दर्शकले लाइभ टिभीमा हेर्न पाउँछन् ?

कोरोनाका कारण केही ढिलाइ भएको हो । आगामी २ वर्षभित्र टिभीमा डब्लुडब्लुईजस्तै स्वदेशी लाइभ ‘रेस्लिङ’ हेर्न दर्शकले पाउनेछन् । यो वर्षभित्र रिङ रेस्लिङ सघले ७७ जिल्लामै विभिन्न कार्यक्रम आयोजना गरेर रेस्लिङ के हो भनेर चिनाउने योजनाका साथ लागिपरेका छौँ । रेस्लिङ खेलमा आउन चाहेको तर, आर्थिक र विविध कारणले समस्यामा परेकाहरुलाई पनि हामी यो क्षेत्रमा काँध हाल्न तयार छौँ ।

  • August 14, 2022 प्रकाशित
  • सम्बन्धित