‘सुँगुर– शुकरे बनेलको जातको, बिष्ठा खाने घरपाला जन्तु, च्वाँचे’ भनेर नेपाली बृहत शब्दकोषमा भनिएको छ । भन्नलाई त सुँगुरलाई फोहोरी जनावर भनिन्छ । तर, ‘फूलको आँखामा फूलै संसार’ भनेजस्तो सँगुर फोहोरी हैन, सफाई गर्ने जनावर पो रहेछ । अहिलेको दृश्य नियाल्दा, फोहोर व्यस्थापन आधुनिक शहरको प्रमुख चुनौती हो । राजधानी काठमाडौँ त डुङडुङती गनाउने फोहोरको दूर्गन्धले ग्रस्त छ ।
काठमाडौंभन्दा तुलनात्मक रुपले पूर्वको शहर धरान नगरलाई सफा मानिन्छ । फोहोरलाई जथाभावी यत्रतत्र मिल्काउने त नेपालीको हरामी बानी नै हो । तैपनी धराने जनताले दुर्गन्धित फोहोरको गन्ध सुँघ्दै हिड्नु परेको छैन । यसको कारण फोहोर व्यवस्थापनको उन्नत प्रणालीभन्दा पनि ‘सुँगुर’ रहेछ । सुन्दा अचम्म लाग्न सक्छ ।
जनजातिको बाहुल्यता रहेको धरानमा सुँगुर पाल्नु राई, लिम्बू संस्कृतिको अभिन्न हिस्सा हो । जनजाति समुदाय र सुँगुरबीचको सम्बन्ध युगौँ युगौँदेखि पूरानो साइनो छ । सुँगुर पाल्ने यहिँ संस्कृतिले धरानलाई तुलनात्मक रुपमा सफा राख्न र फोहोरको दुर्गन्धबाट पर राखेको छ । विशेषगरि भान्साबाट निस्किएका कुहिने फोहोर अर्थात् ‘फूड वेस्टेज’लाई काठमाडौँबासीजस्तो प्लाष्टिकको थैलीमा पोको पारेर मिल्काउनुको सट्टा सुँगुरलाई चारोको रुपमा प्रयोग गरिन्छ । घरमा सँगुर नपाल्नेले पनि छुट्टै भाडामा चारो संकलन गर्छन् । सुँगुर पाल्ने छिमेकीहरु खोजीखोजी पैसा दिई दिई चारो उठाएर लैजान्छन । यसो हुँदा कुहिने फोहोर अन्य नकुँहिने फोहोरमा मिसिएर दुर्गन्ध फैलिन पाउँदैन । यसरी फोहारको प्राकृतिक व्यवस्थापन सँगुरले गर्छ ।
फोहोर व्यवस्थापनको यो रैथाने परम्परा सबैका लागि अनुकरणीय हुन सक्छ । काठमाडौँको फोहोर व्यवस्थापन गर्न पनि यो रैथाने तरिका अबलम्बन गर्न सकिन्छ पो कि ! विशेषगरी घरका भान्साबाट निस्किएका फूड वेस्टेजलाई सबैभन्दा पहिले आफ्नै घरभित्र छुट्टै भाडामा जम्मा गर्नपर्छ । त्यसपछि सबै टोलको फूड वेस्टेज जम्मा गर्न हरेक टोलमा फूड वेस्टेजको लागि छुट्टै बकेटको व्यवस्था गरिनुपर्छ । यस्ता बकेट अलि विशेष खालको हुनुपर्छ । सरकारसँग यस्ता बकेट किन्ने पैसा नभए हरेक टोललाई मापदण्ड तोकेर आफैँ बकेटको व्यवस्थापन गर्न अपिल गर्न सकिन्छ । यसले प्रत्येक व्यक्तिलाई खासै धेरै आर्थिक भार पर्दैन साथै जनताको लगानी लागेपछि सार्वजनिक सम्पत्तिको संरक्षण पनि हुन्छ । यस्ता बकेटलाई फूड बैँक भनेर नाम दिन सकिन्छ । २४ घण्टाभित्र यस्ता फूड बैँक विशेष सफाईका साथ उठाउने व्यवस्था गर्नुपर्छ । यसरी उठेको फूड वेस्टेजलाई प्राङ्गारिक मल बनाउन प्रयोग गर्न पनि सकिन्छ वा सुँगुर पालक किसानलाई बिक्री गर्न सकिन्छ । ‘गिद्ध रेष्टुँरा’ भनेजस्तो ‘सुँगुर रेष्टुँरा’ खोेलेर सुँगुर पालन गरि आम्दानी पनि गर्न सकिन्छ । अथवा छाडा कुकरको व्यवस्थापन गर्न फूड बैँक अर्काे वैकल्पिक उपाय पनि हुनसक्छ ।
ल्यान्ड फिल्ड साइटको नाममा बस्तीको बिचमा लगेर फोहोर फाल्नु भत्र्सना गर्न योग्य कार्य हो । यो तरिका दिगो हुँदै होइन। माथि चर्चा गरिएजस्तो फोहोर व्यव्थापनको प्राकितिक प्रणाली अबलम्बन गरे कम लागत र कम समयमा धेरै उपलब्धि हासिल गर्न पो सकिन्छ कि ?