राज्यसत्ताविरुद्ध अर्काे विद्रोह
  • मूलधार

०५८ देखि भूमिगत भए । करिब साढे ६ वर्ष जेल भोगे । वर्ग र वर्ण व्यवस्थाको अन्त्य गर्न फूल बोकेको हातले गोलीगठ्ठा बोके । समाजका उत्पीडितको मस्तिष्कमा चेतना अंकुराउन ज्यानकाे प्रवाह गरेनन् । मरे यहीँ माटोमा बाँचे नि यहीँ माटोमा तर विभेदको खाँडल पुर्ने धोको नै लिएर उनी माओवादी बने । उनीजस्ता कयौँ युवाहरु समाजको वर्ग, वर्ण संरचना र विभेद अन्त्य गर्न युद्धमा होमिए । कति मरे कति बाँचे ? यी सबै इतिहास भए पनि लेखाजोखा हुन सकेको छैन ।

जनयुद्ध अर्थात् जंगलबाट गोलीको भारी बिसाएर माओवादी शान्तिवार्तामा आयो । तर, असमानता, विभेदको खाँडल अन्त्य भएन । एउटा विद्रोह पूरा गर्न जन्मेको जनयुद्ध ठिटो नभई अवसान भयो । त्यसपछि जन्मिए मुक्तान थेबाजस्ता हजारौँ युवाहरु । जो हिजो शासकको चक्रव्युहुमा फसाइएर झन् मास्न लगाएको टुलुटुलु हेर्न नसकेर युद्धमा होमिएका थिए । बरु आफू मासिन तयार तर सक्कली पहिचान र चिनारी नमास्नकै लागि मुक्ता थेबा पनि धमिरा होइन कमिलाजस्तै भूमिगत भए ।

भूमिगतबाट फुक्काफाल भएको थेबाको माओवादीको बहुमतको सरकार पनि बन्यो । तर, पार्टी फुट्यो, टुक्रा–टुक्रा भयो । थेबा प्रचण्डपथ त्यागेर विप्लवतिर लागे नयाँ जनवादी क्रान्ति पूरा गर्न ।

शान्तिवार्तामा आइसकेको विप्लव समूहका एक योद्धा थेबा अहिले पार्टीसँगै व्यवसायमा लाग्न बाध्य भएका छन् । विभेदविरुद्ध मात्र होइन पूँजीवादको पनि जग भत्काउन जंगल पसेका थेबा अहिले सोह्रखुट्टेमा ‘कफि सप’ चलाउँछन् ‘थेबालाल बुक्स विथ कफी’ । माक्र्सवादमा पुँजीवादको संरचना मानिने कफि सपचाहिँ जबर्जस्त बहाना, ‘विथ बुक’ चाहिँ सपना ।

‘गाईको मासु खानेलाई जेल चलान गरिन्छ । यसको राजनीतिक कारण के हो ? राष्ट्रिय जनावर गाई बनाउनुको पछाडि राजनीतिकरण के छ ? मस्तिष्कमा गाईको बिउ बोकाउने र गाईलाई आमाको बिम्व बनाएर कहिलेसम्म हिडाइरहने ?’

कवितामार्फत राज्यको ज्यादतीविरुद्ध तिखो प्रहार गर्ने थेबाको बाजे (आखे) रामेछापको शैलुङबाटबाट मकवानपुर २०२२ सालमै झरे । मकवानपुरमै जन्मिए थेबा । ठिटो भएपछि थेबे वर्गसंघर्षको आधीबेरी (जनयुद्ध) मा होमिए । तर वर्गसंघर्षको आधीबेरीले कुनै भाका टिपेन । अहिले घरिघरि ऐँठान पार्ने त्यहीँ डोबहरु सहन नसकेर थेबा शब्दमार्फत राज्य सत्तासँग सिंघौरी खेलिरहेका छन् ।

‘अखण्ड आलाप,’ लगायत थुप्रै कृति लेखिसकेका थेबाको पछिल्लो कविता कृति हो, ‘मासिन्या’ अर्थात् मासिन नचाहिने मासिन्या समुदायको व्यक्ति । उनकै शब्दमा भन्नुपर्दा मासिन्या भनेको मासिन अस्वीकार गर्ने । मासिन्या कस्तो समुदाय हो ? उनी भन्छन्, ‘नेपालको १९१० को मुलुकी ऐनले आफ्नो समुदाय मास्न खोज्यो । ऐनमा मासिन्या भनेर तामाङ, थारु, चेपाङलगायत आदिवासी समुदायलाई दुई भागमा विभाजित गरियो– मासिन्या र नमार्ने । दुई भागमा मासिन्यालाई विभाजित गरेर सखाप पार्न खोजियो ।’

आफ्नो भाषा, कला, संस्कृतिमात्र नभई सभ्यता नै मास्न खोजेको प्रष्ट बुझेपछि र विभेदको खाँडल गहिरो देखेपछि युद्धमै बन्दुक लिएर हामिएका थेबा अहिले पनि त्यो अवस्था उस्तै देख्छन् । अर्थात्, विभेदको शैलीचाहिँ फरक, व्यवहार उही ।

राज्यसत्ताविरुद्धको ‘विद्रोह’

राज्य व्यवस्था पूरै हिन्दू व्यवस्थाले गाँजेको देख्ने थेबाको स्वर चर्काे छ । जात, समुदाय र अनुहारको आधारमा बनाइएको कानुनले आदिवासी जनजाति पिधमा पारेर जातोमा मकै पिसेजसरी राज्यसत्ताले पिसिरहेको उनको आरोप छ ।

उनी भन्छन्, ‘आज पनि गाई, गोरु काटेर खाएमा जेल बस्नुपर्ने कानुन छ । आर्थिक, प्रशासनिक र राजनीतिक यी तीनै निर्णायक ठाउँमा उत्पीडित समुदाय किनारामा पारिएको छ । र, अझैँ पनि यी समुदायको उपस्थिति त्यो ठाउँमा छैन । वर्ग, वर्ण व्यवस्था खै अन्त्य भएको । वर्ण, वर्ग व्यवस्थाकै कारण आज आदिवासी समुदाय पिँधभन्दा माथि उठ्न खोज्दा पनि दबाइएको छ ।’

थेबा हिजो र आजको व्यस्थामा कुनै फरकपन देख्दैनन् । प्रक्रिया फरक भए पनि त्यसले जनजातिमाथि लाद्ने विभेदको रुप एउटै भउको ठम्याइ छ उनको । सत्तासिनहरुले विभिन्न प्रावधान, ऐन, कानुन बनाउने तर जनजातिका मुद्धा र मागहरु पूरा नगर्ने र चेप्नै खोजेको छर्लंग रहेको उनी बताउछन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको गाढा तानेर जति सुधारको कुरा गरेपनि अझैँ पनि तहगत जात व्यवस्था, वर्ण व्यवस्था आज पनि एक इन्च हटेको छैन । यो भनेको हिजोकै संरचना होइन र ? र, राज्यमा बस्नेहरुको सोच, चिन्तन वर्ण र वर्ग व्यवस्थाबाट हटेको छैन,’ थेबा राज्यसत्तामा बस्नेहरुलाई जनजातिलाई हक नदिएसम्म विद्रोह रहिरहने बताउँछन् ।

उनी भन्छन्, ‘आज यहीँ कारण ८० प्रतिशत तामाङहरु किन उठेनन् ? किन थारुहरु दबिए ? राई, गुरुङ, मगरलगायत आदिम समुदायहरु किन थिचिए ? उठ्न नदिनुको कारण के ? हिन्दू सोचको हाबी र विभेदकारी ऐन, कानुन ।’

राज्यसत्ताविरुद्धको अर्काे ‘विद्रोह’

राज्यविरुद्ध मुक्तान थेबाको अर्काे असन्तुष्टि छ, आहारविहार । संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनजातिले खाँदै आएको गाई, गोरुको मासुमाथि ऐन बनाएर राज्यले झन् विद्रोह जन्माउन खोजेकोमा थेबा आक्रोश व्यक्त गर्छन् । खानपिनमै रोक लगाउने राज्यले देश सञ्चालन गर्न कसरी सक्छ ? थेबा राज्य सत्तामा बस्नेहरुसँग प्रश्न गर्छन्, ‘गाईको मासु खाने आदिवासीहरुलाई जेल चलान गरिन्छ । यसको राजनीतिक कारण के हो ? राष्ट्रिय जनावरलाई गाई बनाउनुको पछाडि राजनीतिकरण के छ ? मस्तिष्कमा गाईको बिउ बोकाउने र गाईलाई आमाको बिम्व बनाएर हिडाइरहने ?’

राष्ट्रिय जनावरलाई काट्न नहुने, नपाउने नियम कहिँकतै नभएको र राज्यले एकतन्त्रीय शासन लादο षड्यन्त्र रचेको थेबाको बुझाइ र आरोप छ । उनका अनुसार गाई राष्ट्रिय जनावर हुँदैमा, गोरुलाई काट्नै नहुने हो ? अमेरिकाको राष्ट्रिय विषन साँढे हो । तर, वर्षमा हजारौँ विषन साँढे खानलाई पालिन्छ, काटिन्छ र महंगो मूल्यमा त्यसको मासु बेचिन्छ ।

थेबा अझ प्रश्न गर्छन्, ‘अष्ट्रेलियालाई हेर्दा राष्ट्रिय जनावर कंगारुको मासु खाइन्छ । नेपालमा चाहिँ परापूर्वकालदेखि खाँदै आएको गाईको मासु खान नमिल्ने विभेद किन ? मानव सभ्यता के हो ? आहारविहार के हो ? नबुझ्ने ?’

थेबा कुनै समय हिन्दू समुदायले पनि प्रिय मासुका रुपमा गाई, गोरुको मासु खाने गरेको सुनाउँछन् । उनका अनुसार त्यतिबेलाको समाजमा यो गाई, गोरु भन्ने थियो र ? किरात, तामाङ, लिम्बू समुदायले कूल पूजा गर्दा अनिवार्य गोरुको मासुलाई बञ्चित गरेर ‘हिन्दूवाद’ लाद्न खोज्नु बहुपहिचान मुलुक नेपाल कसरी भयो ? प्रश्न गर्छन् थेबा ।

कथित कानुनहरु बनाएर समुदायमाथि प्रतिबन्ध लगाउन तत्पर राज्यसत्ताले विकट भेग, पहाडतिरबाट खानकै लागि गाई, गोरु कौडीको भाउमा किनेर भारत लगेर बेचेको नदेख्ने तर यहाँ कुनै तामाङले गाई काटेर खादा आमा काटेको ट्याग भिराउदा तामाङ समुदायको संस्कृतिमाथि प्रहार भएको थेबा बताउछन् । उनी भन्छन्, ‘भारतले यहाँबाटै लगेको गाई, गोरुको मासु महंगोमा विश्वभर बेच्छ । अनि गाईलाई आमा भनेर दाँज्ने ?’

जनजातिको हक, अधिकार उठाउँदा जातजाति भिडाएर फाइदा उठाउन खोजेको आरोप लगाउनेहरुलाई मुक्तानको कडा जवाफ छ, ‘आन्तरिक राष्ट्र बलियो बनाउ भन्दा जातिय विरोधी हुने ? अनि बाह्य राष्ट्रसँग लड्न खोज्ने ?’ उनी प्रश्न गर्छन्, ‘राई, तामाङ, मगर, चेपाङलगायत सबै जनजाति समुदाय नेपाली होइनन् ? यदि हुन् भने उनीहरुले टेक्ने ठाउ, भूमीमा काँडेतार किन लगाइन्छ ?’ हो यहिँ कुरा बुझाउन आफू अग्रसर भएको थेबा बताउछन् । र, आजको पुस्ताले अब निर्णायक संघर्ष गरे आगामी पुस्ताले फेरि त्यो अन्याय, विभेद र अत्याचार सहनु नपर्ने पनि उनको बुझाइ छ ।

उनका अनुसार इतिहास वीर गाथाहरुमात्र लेखिए । तर, जितेकाहरु को थिए ? उनी भन्छन्, ‘आजकै अनुहार परेका सत्ताधारीहरु न थिए ? उत्पीडित जनजातिलाई लडाएर, भिडाएर उल्टो इतिहास लेखियो । त्यसकारण इतिहास जस्ले लेखे तिनीहरुले भाष्य निर्माण गरे चाहे महेन्द्र होउन् या अरु शासक ।’ भिडाएर जितेकाहरुलाई महान बनाएर क्रुरहरुले आफ्नो इतिहास ‘वीर’ भनेर भाष्य निर्माण गरेको थेबाको आरोप, बुझाइ छ । थेबा इतिहासको पुनर्निर्माण हुन जरुरी रहेको सनुाउछन् ।

फूलको कविता लेख्दैनन् 

पहिचानवादी नभएर पहिचान स्विकार्ने थेबा कविताको स्रोत नेपाली समाजमा किनारा वा उत्पीडिनमा पारिएकाहरुको चेहरा बनाउछन् । र, लेख्छन् राज्यबाट हेपिएका, चेपिएका, पेलिएका, पिधमा पारिएकाहरुको कथा व्यथा ।

उनी फूलको कविता पटक्कै लेख्न चाहन्नन् । किनकि यो समय फूलको कविता लेख्ने समय हुँदै होइन उनका लागि । यो समय त समाज र समयको गतिले कसलाई कसरी विभेद गरिएको छ त्यो कविता कोर्न जरुरी छ उनका लागि । उनका लािग हिमाल, पहाडको कविता लेख्नेहरुले उत्पीडित समुदायको व्यथा बुझ्दैनन् । जहाँ मान्छे मान्छेबीचमा असमानताको खाँडल छ यस्तो अवस्थामा फूलको कविता लेख्न असमर्थ छन् उनी ?

‘सम्प्रदाय, वर्ग, वर्णलाई लिएर विभेदको पर्खाल चुलिएको अवस्थामा झरना, पाखा पखेरो, खोला र छाँगा कविता लेखूँ ? एउटा समुदायको केटो जो गोरुको मासु खाँदै हुर्किएको छ उसलाई अनाहकमा जेल पठाइएको छ ? यस्तो अवस्थामा विद्रोह र प्रतिरोध लेख्नु पर्र्दैन ? पर्छ । त्यसैले हिमाल, पहाडभन्दा पहिले मान्छे मान्छेबीच गरिने असमान व्यवहार र व्यथा हो । त्यसैले म फूलको कविता लेख्दिन’ उनी भन्छन् ।

  • August 12, 2022 प्रकाशित
  • सम्बन्धित