बालेनविरुद्ध उत्रिए वडाध्यक्षहरु- ‘गाइजात्रा देखाएको हो कि फाेहोर नदेख्नुभएको हो ?’(भिडियाे)
  • मूलधार

काठमाडौं । बिहीबार बसेको काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको सातौँ बैठक्रमा प्रमुख (मेयर) बालेन शाहविरुद्ध वडाध्यक्षहरु कडा रुपमा प्रस्तुत भए । बैठक सञ्चालनलगत्तै वडाध्यक्षहरुले मेयर शाहविरुद्ध निहुँ खोजे । सबै वडाध्यक्षहरुको एउटै माग थियो जसरी हुन्छ फोहार व्यवस्थापन ।

शुक्रबारदेखि सुरु हुने काठमाडौं महानगरभित्रको जात्रा अगावै फोहार उठाइनुपर्ने वडाध्यक्षहरुको माग थियो । बरु जात्रा सकिन्जेल फोहोर टुँडिखेल लगेर पनि राख्न सकिने वडाध्यक्षहरको धारणा थियो । तर, जसरी हुन्छ जात्राका समयमा फोहार व्यवस्थापन हुनुपर्ने वडाध्यक्षहरुको माग थियो ।

पालैपालो बोल्ने समयमै एक वडाध्यक्ष मेयर बालेनविरुद्ध उत्रिए– ‘फोहार व्यवस्थापना खै, गाइजात्रा देखाएको हो ? पर्यटकलाई यहिँ देखाउन खोजेको हो ? फोन आएकै आएकै छ । फोहोरले थप महामारी फैलिए के गर्ने ? सिसडोल बन्द छ भनेर हल्का जवाफ दिएर बच्चाजस्तो कुरा गर्न मिल्छ ?’

यसरी एकपछि अर्का वडाध्यक्षहरु मेयर शाहविरुद्ध फोहार व्यवस्थापन नभएकोमा रोस प्रकट गरे । बालेनले उनीहरुको कुरा सुन्दै केही जवाफ दिन खोज्थे तर, वडाध्यक्षहरु फेरि आक्रोशमा आई आपत्ति जनाउथे । मेयरसँग बसेकी उपमेयर सुनिता डंगोल भने शान्त देखिन्थिन् ।

शुक्रबारदेखि गाइजात्रा सुरु हुने भएकाले जसरी हुन्छ फोहोर व्यवस्थापन गर्नुपर्ने वडाध्यक्षहरुको जिकिर थियो । ‘गाइजात्राको अगाडि गाइजात्रा नगारौँ । फोहोर कार्यदलको विषयमा के भयो डिटेल चाहियो । यतिका धेरै एजेन्डा बनाउन सक्ने तर, फोहोरको एजेन्डा खै ? फोहोर प्रादेशिकलाई दिने कि आफैँ उठाउने ? एजेन्डा फोहोरको मात्र हुनुपर्छ । कार्यदलले फोहोरसम्बन्धी के गर्यो ? यो आज चाहियो । बिहीबार (आज) रातिसम्म जसरी हुन्छ फाहोर व्यवस्थापन गर्नुपर्यो । कि टुँडिखेल लाने हो । लाने हो त ? पुलमुनि, बाटोमा पुरै फोहारले पुरिएको छ । कि फा]होर नदेख्नुभएको हो ?,’ मेयर शाहलाई उनी नजिकै बसेका वडाध्यक्षले प्रश्न गरे ।

निर्वाचित भएको तीन महिना बितिसक्दा पनि फोहोरको व्यवस्थापन नहुनुमा अर्का वडाध्यक्षले रोस प्रकट गरे । ‘के घोडा एक्लै दौडाउने खोजेको हा ? काठमाडौं महानगर साँच्चिकै बनाउने हो भने सिरियस होऔँ । यदि फोहोर राजनीतिक हो भने भन्नुस्, सिसडोलको विकल्प खोज्ने हो भने खोजौँ ।’

वडाध्यक्षहरुको आक्रोशपूर्ण धारणाले मेयर शाहले केहिँ रिसाएजस्तो देखिन्थे । एक वडाध्यक्षले निर्वाचित भएपछि ‘फोहोर व्यवस्थापन नगरी अरु कामै थाल्दिन भन्नुहुन्थ्यो खै त व्यवस्थापन ?’ भनेर प्रश्न गरेपछि बालेन रिसाए । भने, ‘बाटो मैले तुरुन्त कसरी बनाऊ त ? सल्लाह दिन खोज्नुभएको हो कि के ? तपाईले नै भन्नु न त ।’

उपमेर डंगोलले शुक्रबारदेखि जात्रा सुरु हुने भएकोले फोहार व्यवस्थापन नगरी नहुने बताइन् । उनले जात्राको समयमा फोहार व्यवस्थापन गर्ने अडान राखिन् । मेयर बालेनले जसरी हुन्छ बिहीबार राति जात्रा हुने क्षेत्रमा फोहोर व्यवस्थापन गरिने बताए ।

  • August 11, 2022 प्रकाशित
  • सम्बन्धित