‘विद्यार्थी बद्लिए, शिक्षक बद्लिएनन्’ (भिडियाे)
  • मूलधार

३६ वर्ष त्रि.वि.मा अध्यापन गराएका प्रा.डा. विद्यानाथ कोइरालाको कपाल सेतै फुलिसकेको छ । तैपनि नेपालको शिक्षा सुधारप्रति उनको चासो जारी छ । शिक्षाको सन्दर्भमा विद्यार्थीको मापन ग्रेडिङ होइन क्षमताले निर्धारण गर्छ भन्ने प्रष्ट ढिपी कोइरालाले नै सुरु गरेका हुन् । उनी कुनै विद्यार्थीले ‘ए’ ग्रेड ल्याउनु र ‘ई’ ग्रेड ल्याउनुमा केही फरकपन देख्दैनन् । उनी भन्छन्, ‘किनकि त्यसले विद्यार्थीको योग्यता र क्षमता मापन गर्दैन ।’

नेपालको शिक्षाको सन्दर्भमा कुरा गर्दा केही दिनअघि एसईईको नतिजा सार्वजनिक भएको छ । ‘फलामे ढोका’ भनिने एसईई विगतको तुलनामा खस्किएको तथ्यांक छ । शैक्षिक तथ्यांक खस्किनुमा विद्यार्थी कि शिक्षक गलत ? वा अन्य के कारणले शैक्षिक ग्राफ खस्किएको हो त ? एसईईलाई मात्र नलिएर समग्र नेपालको शिक्षा अवस्था कस्तो छ त ? यिनै विविध प्रश्नको उत्तर खोज्न शिक्षाविद् कोइरालालाई ‘मूलधार बहस’ निम्त्याएका छौँ । शिक्षाविद् कोइरालालाई मूलधारकर्मी सुदिप राईको प्रश्न :

एसईईको नतिजालाई कसरी नियाल्नुभएको छ ?

गुणस्तर खस्किदै गएको छ । ३५ पनि ल्याउन नसक्ने विद्यार्थीको जमात बढेको छ । परिणामतः सरकारले ३५ ल्याएमात्र ग्रेडेड नत्र नन ग्रेडेड प्रणाली ल्याएको छ । यो हेर्ने हो भने परीक्षा फल कमजोर देखिन्छ ।

प्रत्येक वर्ष नतिजा घट्ने र बढ्ने किन भइरहेको छ ?

योचाहिँ गम्भीर प्रश्न हो । म के देख्छु भने– नतिजा ल्याउने निर्णायक को हो ? विद्यार्थी हो कि प्रधानाध्यापक हो कि पालिका हो कि कर्मचारीतन्त्रले ? यो विषयमा बिटुंगो भएपछि गैरजिम्मेवारी तनाव बढेको छ । चीनले काउन्टी र कम्युनलाई शिक्षाको जिम्मा लगाउँछ, अमेरिका छुट्टै शिक्षासम्बन्धी निष्पक्ष छानविन समिति छुट्याउँदोरहेछ र शिक्षा उक्त समितिले हेर्छ, फ्रान्सका मान्छेले पालिकालाई शिक्षा हेर्न दिन्छ, बेलायतले कर्मचारीतन्त्रलाई दिँदोरहेछ, नेपालमाचाहिँ दलले । जिम्मेवार नै नभएपछि शिक्षाको महशुस कसरी गर्ने ।

शिक्षामा कहाँ कहाँ संरचना र फेसो खुस्क्यो ?

यसभित्र तीन कुराहरु पर्दछन् लगानी, प्रक्रिया र उपलब्धि । लगानीभित्र शिक्षक, पाठ्यक्रम र पाठ्यपुस्तकलाई मानिन्छ । पाठ्यक्रम र पाठ्यपुस्तक राम्रो छ । पाठ्यक्रमलाई शिक्षकले समयअनुसार बदल्न सक्नुपर्यो चाहे शिक्षकले ताप्लेजुङ पढाओस् या काठमाडौंमा । समस्या भएन । विद्यार्थीहरुलाई त शिक्षाको गुणस्तर बढेन भनेर दोष दिन त मिलेन उनीहरु त विद्यार्थी नै भए । समस्या भनेको शिक्षक र पठनपाठनको तयारी । हिजो जसरी पढिरहेको, पढाइएको छ । विद्यार्थी बद्लिए, शिक्षक बद्लिएनन् । शिक्षक बद्लिएको ठाउँमा शिक्षाको गुणस्तर बढेको छ, विद्यार्थी बद्लिएको ठाउँमा शिक्षा घटेको छ ।

शिक्षक किन र के कारण बद्लिएनन् ?

पढाउने तरिकामा विद्यार्थी किताबमा आधारित भएर पढ्न चाहँदैनन् । मोबाइल चलाएर, ल्यापटप चलाए, घाँस काटेर आएर हुन सक्ला पढ्न मन नभएको । भारी बोकेर विद्यालय आएको विदार्थीलाई म विज्ञान पढाउँदै गर्दा ‘तिमी आज बिहान भारी बोकेर आएको हो’ भनिदिएर कति गह्रुंगो थियो भन्दा विद्यार्थीले गणित पढ्थ्यो होला, किन गह्रुंगो भो भन्दा सामाजिक पढ्थ्यो होला । यसरी शिक्षालाई प्रक्रियागत रुपमा दैनिक जीवनमा जोड्न सकिएन । सबै शिक्षकलाई गल्ती दिन्न हुन्न, तर गल्ती शिक्षक छुट्याउन चुक्यौँ ।

त्यसो हो भने नेपालमा नमूना विद्यालय पनि छन् ?

छन् । थुप्रै छन् । सरकारले नमूना विद्यालय भनेर नचाहिँदो काम गरेको छ । पढाई यस्तो हुनुपर्छ भन्ने आधार दिए त पालिकामा त्यस्तो नमूना विद्यालय पाइन्थ्यो नि । काठमाडौंको ज्ञानोदय, विश्वनिकेतनलाई हेरौँ । गर्ने मान्छेले त गरिरहेकै छन् । राम्रोको उपलब्धि राम्रै छ नराम्रोको हल्ला बढी छ ।

अब्बल शिक्षक हुन कस्ता खालका गुणहरु हुनुपर्छ ?

समयअनुसार चल्ने हुनुपर्छ । पहिलो त शिक्षक ‘बुर्जुवा’ भए। बुर्जुवा भनेको पुँजीमात्र खाने, गरि नखाने । दोस्रो शिक्षक वैज्ञानिक हुने होइन खोज गर्ने हो ।

समस्याको समाधानचाहिँ के त ?

प्रतियोगिता पुँजीवादको व्यवस्था । कर्मको विधि जान्ने हामीले प्रतियोगिता गर्न जानेनौँ । सहयोग र सहकार्यलाई उल्टाएर प्रतियोगिता फसायौँ । यो भनेको पुँजीवादीलाई बोकियाे। प्रतियोगिता विद्यार्थीले अरुसँग होइन आफूसँग गर्ने हो । उस्को क्षमता उसँग न हो अरुसँग होइन । म नाच्न जान्दछु, गाउन जान्दछु म किन अरुसँग प्रतियोगिता गरु ? एसईईमा ‘ए’ र ‘ई’ आउनुको अर्थ के ? क्षमताअनुसार पास भयो, ढोका बन्द ।

अगाडि आए पनि त्यहिँ ढोकाबाट छिरेको हो पछि आए पनि त्यहिँ ढोकाबाट छिरेको हो मतलबै भएन । विद्यार्थीले के ल्याउछ उसको काम हो । अब, ११ कक्षामा भर्ना हुँदा कहाँ भर्ना हुने उस्को कुरा हो, मकहाँ यति विद्यार्थी हुनुपर्छ भन्ने स्कुलको कुरा हो तर, एसईईमा त विद्यार्थीको ढोकै थुन्न त भएन नि हौँ ! चाहे ‘सी’ ग्रेड ल्याओस् कि ‘ई’ । विद्यार्थीमा क्षमता त हुन सक्छ नि । अमेरिका र युरोपतिर गयो भने कसैको ए आयो कि ई आयो भनेर प्रमाणपत्र हेर्दैन । कोरोनाको बेला एसईईको ग्रेडिङ हेर्दा लाजमर्दाे छैन ।

 

  • August 9, 2022 प्रकाशित
  • सम्बन्धित