काठमाडौं । साेमबार बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमाथि तोडफोड भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह बालेनले यस घटनाप्रति कडा प्रतिक्रिया दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत कानुनीरुपमा फोहोर बोक्ने साधनहरुमाथि तोडफोड जघन्य अपराध भएको भन्दै फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको मेयर बालेनले प्रतिक्रिया दिएका छन् ।
मेयर बालेनले फोहोर बोक्ने साधनहरुमाथि तोडफोड गर्नेहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनुपर्ने पनि माग गरेका छन् । साथै, तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनुपर्ने पनि उनले भनेका छन् । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको पनि उनले बताएका छन् ।
यसैगरी केही व्यक्ति वा समूहको स्वार्थ पूरा गर्नका लागि २१ पालिकाका फोहोर अव्यवस्थित र असरल्ल पार्न नसकिने पनि उनले बताएका छन् । साथै, विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगर्न उनको अनुरोध छ ।
उनले लेखेका छन् :
फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।
यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।
कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुन बमोजिम अपराधीहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।
केहि व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरुको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिदैन । विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।