निर्मला पन्तका हत्या आरोपी दिलीप बिष्टमाथि यौन दुर्व्यवहारको अर्को आरोप
  • मूलधार

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएकै ठाउँ नजिक दिलीप सिंह बिष्टले एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।

२०७५ साउन १० गते किशोरी पन्तको शव भेटिएको ठाउँ नजिकै बिष्टले कक्षा १२ मा अध्ययनरत एक किशोरीलाई दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीकोमा पुगेका छन्। महेन्द्र माविमा कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई बिष्टले बाटो ढुकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ। घटना साउन १२ को हो।

मृत भेटिएकी निर्मलाको साइकल भेटिएको भन्दा करिब ७० मिटर टाढा कल्भर्टमा बिष्टले ती छात्रालाई दुव्यर्वहार गरेको पीडित पक्षको भनाइ छ। बिष्टबाट दुर्व्यवहारमा परेको भन्दै २ पटकसम्म प्रहरीकोमा जाहेरी लिएर जाँदा जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षको भनाइ छ।

तर, जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख एसपी श्याम चौधरीले भने जोहेरी नआएको दाबी गरे। नेपाल लाइभसँग कुरा गर्दै एसपी चौधरीले भने, ‘पीडित भनिएका व्यक्तिहरु जाहेरी लिएर आउनु भएको छैन। दुर्व्यवहार भयो भन्ने सूचना चाहिँ हामीकहाँ आएपछि हामीले अनुसन्धान गरेका छौं। घटना के हो, कसरी भयो? भन्नेबारे हामी बुझ्दै छौं।’

यसअघि पनि बिष्टले दुव्यर्वहार गरेको भन्दै पटक पटक महिलाहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका थिए।

अहिले एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेका बिष्टलाई भने यसअघि प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको विशेष टोलीले पन्तको बलात्कार र हत्या बिष्टबाट भएको निष्कर्ष निकालेको थियो।

  • August 8, 2022 प्रकाशित
  • सम्बन्धित