रुसको नियन्त्रणमा रहेकी अमेरिकी स्टार खेलाडी ग्रिनरलाई ९ वर्षको जेल सजाय
  • मूलधार

एजेन्सी । झण्डै ६ महिनादेखि रुसको नियन्त्रणमा रहेकी अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई रुसको अदालतले लागूऔषध तस्करीको मुद्दामा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ ।

रुसको खिम्की सहरको अदालतमा न्यायाधीश अन्ना सोत्निकोभाको इजलासले ग्रिनरलाई लागूऔषध मुद्दामा दोषी ठहर गरेको हो । यससँगै अदालतको फैसलामा ग्रिनरलाई १६ हजार ३ सय अमेरिकी डलर जरीवाना पनि सुनाइएको छ ।

‘वुमन नेसनल बास्केटबल एसोसिएसन’ स्टार ग्रिनर दुई पटकको ओलम्पिक गोल्ड मेडलिस्ट पनि हुन् । बिहीबार हथकडीसहित प्रहरीको साथ अदालतबाहिर निस्किएकी ग्रिनरले ‘म मेरो परिवारलाई माया गर्छु’ भन्दै पत्रकारहरूलाई प्रतिक्रिया दिएकी थिइन् ।

ग्रिनरले अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा आफू रुसी जेलमै आजीवन रहनसक्ने त्रास भएको भन्दै आफूलाई रिहाइको पहल गरिदिन अमेरिकी राष्ट्रपति जो बाइडेनको नाममा पत्र लेखेकी थिइन् ।

‘म रुसी जेलमा बसिरहँदा, मेरा विचारहरू र मेरी श्रीमती (समलिंगी जोडी), परिवार, साथीहरू, ओलम्पिक जर्सी, वा कुनै उपलब्धिको रक्षा बिना, म सधैंको लागि यहीँ रहन सक्छु भनेर डराएको छु,’ ग्रिनरको हस्तलिखित पत्रमा उल्लेख थियो।

ग्रिनर गत फेब्रुअरीमा रुसको राजधानी मस्कोस्थित विमानस्थलबाट पक्राउ परेकी थिइन् । रुसी प्रहरीले उनलाई गाँजाको तेलसहितको ‘भेप कार्टिज’ बोकेको आरोप लगाएको छ।

  • August 7, 2022 प्रकाशित
  • सम्बन्धित