मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टी एकता हुने
  • मूलधार

काठमाडौँ । मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादी र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नेतृत्व गरेको नेकपा बहुमत पार्टीबीच एकताको सहमति भएको छ । पार्टी एकताका लागि बिहीबार दुवै नेतृत्वसहित वार्ता टोलीबीच संयुक्त बैठक बसेर एकता गर्ने सहमति भएको हो ।

एकता प्रक्रियालाई अगाढि बढाउन पार्टी एकता संयोजन समिति समेत गठन गरेको छ । दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

क्रान्तिकारी माओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।

नेकपा बहुमतका संयोजक बास्तोलाले जतिसक्दो छिटो पार्टी एकताको प्रकृया पूरा हुने बताए । ‘ संयोजन समितिले वैचारिक, राजनीतिक र सांगठनिक संचरनाको टुंगो लगाएर छिट्टै एकता प्रकृयालाई पूणर्ता दिन्छ’ उनले भने, ‘ जतिसक्दो छिटो एकतालाई पूणर्ता दिन्छौं ।’

उनले संसदमा रहेका वामपन्थीहरूसँगको एकताका बारेमा भने अहिले नै छलफल नभएको बताए । समाजवादका केही आधार तय भएको खण्डमा मात्रै उनीहरूसँग पनि एकता गर्ने विषयमा छलफल हुने उनको भनाइ छ । संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कञ्चनाले एकता प्रक्रियामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

  • August 5, 2022 प्रकाशित
  • सम्बन्धित