घुससहित रंगे हात पक्राउ परेका उपसचिवको गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद
  • मूलधार

काठमाडौं । नक्सालबाट ६ लाख घुससहित रंगे हात पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरिएको छ ।

उजुरीका आधारमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रंगे हात पक्राउ गरेपछि खानतलासीका क्रममा उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हो ।

उपसचिव नेपालको साथबाट अख्तियारले कू साढे २२ लाख रुपैयाँ रकम बरामद गरेको छ । उपसचिव नेपालले उक्त रकम कहाँबाट, किन र कसले दियो भन्ने खुलाएका छैनन् । उनीमाथि अख्तियारले अनुसन्धान जारी राखेको छ । अहिले अख्तियारको टोलीले रकमको मुचुल्का बनाउनेदेखि अन्य कागजात र प्रमाण संकलन गर्दैछ ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको उजुरी परेपछि अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो। उपसचिव नेपालमाथि प्याराग्लाइडिङको लाइसेन्स दिएबापत घुस लिएको आरोप छ । आयोगबाट खटिएको टोलीले ६ लाख घुससहित नेपाललाई नक्साल, नागपोखरीस्थित होटेल अरण्यको कम्पाण्डबाटबाट रंगेहात पक्राउ गरेको   थियाे।

 याे पनि :

 

  • August 2, 2022 प्रकाशित
  • सम्बन्धित