किरातबिनाको कुनै नाम आए ज्यानको बाजी थापेर लडिन्छ : दिवस राई (भिडियाे)
  • मूलधार

७ प्रदेशमध्ये ६ प्रदेशको नामाकरण भइसकेको छ । तर, प्रदेश १ को नामाकरण भने भुमरीमै रुमलिरहेको छ । दलहरुबीच आन्तरिक छलफल कयौँपटक भए तर पनि प्रदेश १ को नामाकरण जुट्न सकेन । प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै पनि अवस्थामा प्रदेश १ को नाम भूगोलका आधारमा गरिनुपर्ने अडानमा छन् भने सत्तारुढ दलहरु पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न केही हदसम्म लचकता देखिएका छन् । राजनीतिक दल दुई ध्रुवमा विभाजजित हुँदा बाहिर आन्दोलनका स्वरहरु पनि त्यसैगरी विभाजित छन् । कतै प्रदेश १ ‘किरात प्रदेश’ हुनुपर्ने आवाज जोडतोडका साथ उठिरहेको छ भने कतै प्रदेश १ को नाम ‘लिम्बूवान–किरात’ हुनुपर्ने आवाज चर्किदो छ । प्रदेशसभाको ५ वर्षे कार्यकाल बित्नै लाग्दा अहिले प्रदेशको नामाकरणको विषयले निकै उथुलपुथुल मच्चाइरहेको छ ।

प्रदेश १ कै नामाकरणका सन्दर्भमा साउन २ गते राईहरुको साझा संस्था किरात राई यायोक्खाले प्रदेशको नामाकरण ‘किरात प्रदेश’ गरिनुपर्ने भन्दै मुख्यमन्त्री कार्यालय र प्रदेशसभा नै घेराउ गर्यो । घेराउपश्चात् यायोक्खाले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझायो । यसैक्रममा जिल्ला जिल्लामा प्रदेशको नामाकरण किरात प्रदेशको मागसहित यायोक्खाले प्रदर्शन गर्यो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेरै प्रदेश १ ‘किरात प्रदेश’ हुनुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश १ किरातीहरुको थलो भएकाले कुनै पनि अवस्थामा राज्यले पहिचानको आधारमा प्रदेश नामाकरण नगरेका आधी हुरी आउने यायोक्खाका अध्यक्ष राईको भनाइ छ । सम्पूर्ण आदिवासीहरु किरातकै उत्पादन वा जरा भएका कारण ‘किरात प्रदेश’ नामाकरणमा कसैले विमति गर्न आवश्यक नरहेको उनी बताउछन् । तैपनि अहिले प्रदेश १ मा किरात प्रदेशको आवाजसँगै लिम्बू समुदायले पनि लिम्बूवान–किरात हुनुपर्ने आवाज चर्किदो छ । तर, यसलाई ठूलो इस्यू मान्दैनन् अध्यक्ष राई । उनी दलहरुको निकम्माले प्रदेशको नामाकरण हुन नसकेको बताउछन् । तर, अहिले देखिएको आन्दोलनलाई नियाल्दा एकपछि अर्का समुदायले पनि प्रदेशको नामाकरणमा दाबी गर्ने हो भने प्रदेशको नामाकरण कहिले ? कसरी सम्भव छ यस्तो किचलो र भ्रान्तिकाबीच प्रदेशको नामाकरणको टुंगो ? यहिँ सन्दर्भमा बहस गर्न यायोक्खाका अध्यक्ष राईलाई ‘मूलधार बहस’ मा निम्ताएका छौँ ।

 

 

  • August 2, 2022 प्रकाशित
  • सम्बन्धित