काभ्रेस्थली घटना : श्रीमान-श्रीमतीको झगडाले परिवार सखाप
  • मूलधार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित काभ्रेस्थली, पदमसालमा रहेको एक परिवारको दम्पत्तिबीच विवाद सिर्जना हुँदा पूरै परिवारले ज्यान गुमाउनुपरेको छ । अरुबेला हल्लीखल्ली सुनिने घरमा सोमबार बिहान अबेरसम्म घर सुनसान देखिएपछि स्थानीयले घरको ढोका फोडेर भित्र प्रवेश गर्दा परिवारका सबैजना मृत अवस्थामा फेला परेका थिए ।

घटनापछि स्थानीले प्रहरीले खबर गरे । घरभित्र गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षीय छोरा आशिक र ७ वर्षीया छोरी आशिका मृत अवस्थामा थिए । घटनास्थलमा प्रहरी आएपछि थालेको प्रारम्भिक अनुसन्धानमा परिवारको हत्यापछि दिनेशले आत्महत्या गरेको खुलेको थियो। प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नोट समेत भेटिएको छ। तर, उक्त सुसाइड नोटमा के उल्लेख छ भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन।

पारिवारिक कलहपछि सुनिता बेलायत जाने तयारी थिइन् । उनको भिसा पनि आइसकेको थियो । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल आएपछि दिनेशले इलेक्ट्रोनिक्ससम्बन्धी काममा व्यस्त थिए भने सुनिता फेन्सी पसल चलाउदै आएकी थिइन् ।

त्यहाँका स्थानीयहरुका अनुसार यसअघि पनि दुईबीचमा पटक पटक झगडा हुने गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पारिवारिक झगडाकै कारण दिनेशले घर बेच्न खोजेका थिए । तर, दिनेशले घर बेच्ने कुरा गरेपछि सुनिताले आपत्ति जनाएकी थिइन् । यत्तिकै दिनेशले सुनितालाई थाहै नदिइ १० लाख लिएर घर बैना गरेका थिए । बैनासँगै दिनेशले घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि अनुसन्धानमा खुलेको छ ।

सम्पत्ति र पारिवारिक कलह बढ्न थालेपछि माइती पक्षले सुनितालाई बेलायत पठाउने निर्णय गरेको थियो र सुनिताको बेलायतको भिसा पनि आइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ। तर, सुनिता बेलायत उड्ने तयारीमा रहँदै परिवार नै सखाप बनेको छ ।

अहिले प्रहरीले यस घटनाबारे गहिरो अनुससन्धान गरिरहेको छ । यस्तै, घटनाको अनुसन्धान गर्न शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली घटनास्थलमा पुगेको छ ।

  • August 1, 2022 प्रकाशित
  • सम्बन्धित