‘सक्किगोनी’ का कलाकारले एक महिनामा कति लिन्छन् पारिश्रमिक ?
  • मूलधार

काठमाडौं । पछिल्लो समय हास्य टेलिशृङखलाको क्रेज छुट्टै छ दर्शकमाझ । अहिले नेपालकै चर्चित हास्य टेलिशृङखला ‘सक्किगोनी’ ले आफ्नो छाप बेग्लै बनाउन सफल छ । प्रत्येक बिहीबार राति हिमालय टिभीबाट प्रसारण हुने सिरियल अहिले ७९ औं भाग पार गरेको छ । ‘भद्रगोल’ बाट छुट्टिएर ‘सक्किगोनी’ बनाएका जिग्री–पाडेको टिमले पहिलेकै क्रेजले दर्शक ताने । आजको यो रिपोर्टमा अहिले नेपालकै चर्चित सिरियलका रुपमा उदाएको ‘सक्किगोनी’ का सम्पूर्ण कलाकारले एक महिनामा कति तलब पाउँछन् ? भन्ने विषयमा चर्चा गरेका छौँ ।

झण्डै दुई दर्जन कलाकारले एक महिनामा ३५ हजारदेखि अढाइ लाखसम्म पारिश्रमिक लिन्छन् । सबैले आआफ्नो जिम्मेवारीअनुसारको पारिश्रमिक लिने गरेका छन् । ‘सक्किगोनी’ मा ‘सानु’ भनेर चिनिने सञ्चिता पाण्डेले एक महिनामा ३५ हजारसम्म पारिश्रमिक लिन्छिन् । यस्तै, प्रियाना आचार्य नामले चिनिने ‘मुन्नि’ ले पनि एक महिनामा ३५ हजारसम्मै पारिश्रमिक बुझ्छिन् ।

‘सक्किगोनी’ मा पाडेकी श्रीमतीका रुपमा रहेकी सीतादेवी घिमिरे अर्थात् ‘चन्द्रु’ ले एक महिनामा ४० हजारसम्म पारिश्रमिक लिन्छिन् । बलेको बाउ भनेर चिनिने मधुसुदन पाठक ‘सिते बा’ ले एक महिनामा ५० हजारसम्म तलब लिन्छन् । जिग्रीको आमाका रुपमा भूमिका निर्वाह गर्ने रस्मी पाण्डे ‘माकुरी’ ले पनि एक महिनामा ५० हजारसम्म पारिश्रमिक बुझ्छिन् भने काकुकी एक्ली छोरीका रुपमा उपस्थित रक्षा रेष्ठ ‘रक्षा’ ले पनि एक महिनामा ५० हजारसम्म पारिश्रमिक लिन्छिन् ।

यस्तै, ‘सक्किगोनी’ मा ‘जयन्ते’ भनेर चिनिने गोविन्द कोइराला पनि एक महिनामा पारिश्रमिक ५० हजारसम्म नै लिन्छन् । काकुका छोराका रुपमा उपस्थित भएका सुबोध गौतम ‘एदुमे’ ले एक महिनाको पारिश्रमिक ६० हजारसम्म लिन्छन् भने सागर लम्साल ‘बले’ ले ८० देखि ९० हजारसम्म लिन्छन् । सानुकी बुवाका रुपमा भूमिका निभाउने ‘माण्ठा’ अर्थात् कविराज बमले एक महिनाको पारिश्रमिक ५० हजारसम्म लिन्छन् ।

‘सक्किगोनी’ मा रक्षा र एदुमेको बुवा भनेर चिनिने दिपक आचार्य ‘काकु’ निर्देशकसमेत हुन् । उनले एक महिनामा ६५ हजारसम्म कमाउँछन् । ‘सक्किगोनी’ स्लो मोसनमा थेगो बनाएका हरिश निरौला ‘कक्रोज’ले एक महिनाको पारिश्रमिक ९० हजारसम्म लिन्छन् भने सीपी पुडासैनी ‘धतुरे’ ले एक महिनाको पारिश्रमिक ६५ हजारसम्म लिन्छन् । मुन्निकी बुवाले चिनिने रामभजन कामड ‘रामभजन’ ले एक महिनामा ५० हजारसम्म पारिश्रमिक लिन्छन् ।

यसैगरी ‘सक्किगोनी’ मा कमलमणी नेपाल ‘खुपीका बाउ’ ले पारिश्रमिक ६० हजारसम्म लिन्छन् । थोरै समय धेरै चर्चा कमाउन सफल भावन आचार्य ‘लुरी’ ले एक महिनामा ३५ हजारसम्म पारिश्रमिक बुझ्छिन् । ‘सक्किगोनी’ का निर्देशन र कथा लेखन आफैँ गर्ने कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाडे’ले एक महिनामा अढाई लाख पारिश्रमिक लिन्छन् ।

  • July 30, 2022 प्रकाशित
  • सम्बन्धित