संवैद्यानिक निकायमा ५२ पदाधिकारी नियुक्तिविरुद्दको रिटमाथिको सुनुवाई फेरि स्थगित
  • मूलधार

काठमाडौं । तत्कालीन ओली सरकारको पालामा विभिन्न संवैद्यानिक निकायमा भएको नियुक्तिविरुद्द रिटमाथिको सुनुवाई फेरि स्थगित भएको छ ।

पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत दुई चरणमा गरी विभिन्न संवैद्यानिक निकायमा नियुक्त गरेका ५२ पदाधिकारीविरुद्दको रिट उपरको सुनुवाईको मिति आजका लागि तोकिए पनि सुनुवाई स्थगित भएको छ ।

पटक पटक म्याद तामेली, लिखित जवाफ र मुद्दाको अन्य सबै प्रक्रिया पूरा गरेकाले अब अन्तिम सुनुवाइ हुनुपर्ने रिट निवेदक ओमप्रकाश अर्यालहरुको दावा थियो । तर आजको इजलासमा बस्नुअगावै विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै अब्जेक्सन जनाएका कारण सुनुवाई स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग,लोकसेवा आयोग लगायतका संवैद्यानिक निकायमा गरेका नियुक्तिविरुद्ध अधिवक्ताहरु ओमप्रकाश अर्याल,दिनेश त्रिपाठी,समृत खरेल,कीर्तिनाथ पौडेलले रिट दायर गरेका थिए ।

कामु प्रधानन्यायधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैद्यानिक इजलाशले सो मुद्धाको सुनुवाई गर्ने गरी पेशीमा चढेको भए पनि विपक्षी अधिवक्ताको अब्जेक्सनका कारण आजको सुनुवाई स्थगित हुन पुगेको जनाइएको छ ।

यस अघि गत ८ असारको अन्तरिम आदेशको छलफलको सुनुवाइका क्रममा सवैधानिक इजलासले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिको सक्कल फाइल झिकाउने आदेश गरेको थियो। अदालतको आदेश अनुसार संवैधानिक परिषद्‌बाट सक्कल फाइल आइसकेको छ।

  • July 27, 2022 प्रकाशित
  • सम्बन्धित