एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
  • मूलधार

सुनसरी । एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । गत शनिबार पक्राउ परेका उनीहरुलाई म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाले युवतीलाई जबर्जस्ती पटकपटक बलात्कार गरेको अभियोग लागेको छ । ती युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राउत नेपाल खेलकुद महासंघका सचिव, कराँते मोरङका सहायक प्रशिक्षक, मोरङ तालिम विभागको उपनिर्देशक पनि हुन् । उनी विराटनगरका विभिन्न सामाजिक संघ संगठनमा पनि रहेका छन् भने जग्गा कारोबारी पनि हुन् ।

सुवेदी भने विराटनगर अस्पतालका सुरक्षा विभागमा कार्यरत छन् । उनी पनि एमाले निकट खेलकुद संगठनहरुमा सक्रिय छन् । उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । दुवै जना विराटनगरका हुन् ।

  • July 26, 2022 प्रकाशित
  • सम्बन्धित