धरहराको ठेकेदारलाई मन्त्री चौधरीले झपारे, ‘आधा काम बाँकी छँदै धरहरा उद्घाटन गर्न किन हौस्याउनुभयो ?’
  • मूलधार

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहराको निर्माण कार्य अझैँ सकिएको छैन । कहिले निर्माण कार्य सकिन्छ यकिन छैन । कोरोना महामारीकै समयमा दलबलसहित उद्घाटन गरिएको धरहराको टुप्पोमा सोमबार सहरी विकास मन्त्री मेटमणि चौधरी पनि दलबलसहित पुगे ।

अघि पछि सुरक्षाकर्मीका साथ पुगेका मन्त्री चौधरीले धरहराको अवस्थाबारे फेददेखि टुप्पासम्म नियाले । धरहराको अवलोकनकै क्रममा धरहरा निर्माणको ठेक्का लिएका ठेकेदारलाई पनि मन्त्री चौधरी झपारे । उद्घाटन गरिएको भनिएको धरहरा अझैँ नसकिएपछि मन्त्री चौधरी ठेकेदारसँग रिसाउन पुगेका थिए ।

आयोजना निर्देशक कोषनाथ अधिकारीलाई मन्त्री चौधरीले काम नसकि नै उद्घाटन गर्न किन उक्साएको भन्दै थर्काए । मन्त्री चौधरीले अधिकारीलाई थर्काए, ‘चारपटक म्याद थप भइसकेछ। अब कति पटक थप्नुपर्ने ? पैसामात्रै कमाउन खोजेजस्तो नगर्नुस्। आफ्नो इज्जतको पनि ख्याल गर्नुस्।’

यतिमै मन्त्री चौधरी रोकिएनन् । धरहराको निर्माण नसकिँदै उद्घाटन गर्न रौसाएकोप्रति कडा रुपमा प्रस्तुत भए । ‘आधा काम बाँकी छँदै तत्कालीन प्रधानमन्त्रीलाई धरहरा उद्घाटनका लागि किन हौस्याउनुभयो ? मैले पनि त्यस्तै काम गर्न थाले तपाईहरुले उल्टै रोक्नुपर्ने दायित्व होइन र ?,’ मन्त्री चौधरी कड्किए ।

मन्त्रीले ठेकेदारलाई थर्काएपछि मत्रीसँगै अनुगमनमा पुगेका सचिव डा. रेमशप्रसाद सिंहले समयमै बाँकी धरहरा निर्माणको काम सक्न आदेश दिए । अब पनि भनिएको समयमा धरहरा निर्माण नभए पेनाल्टीसमेत तिराउन लगाउने सचिवले ठेकेदारलाई अल्टिमेटम दिए । दुई वर्षमा धरहराको निर्माण सम्पन्न गर्ने ठेकेदारले जिम्मा लिए पनि चार पटक आयोजनाको म्याद थपिएको छ । पछिल्लो समयको निर्माण सम्झौता मिति ०७९ असोज मसान्तसम्म रहेको छ। हालसम्म धरहराको करिब ६६ प्रतिशत काम मात्र सम्पन्न भएको बताइएको छ ।

 

  • July 25, 2022 प्रकाशित
  • सम्बन्धित