काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट पोखरा महानगरपालिकाको प्रमुख (मेयर) मा निर्वाचित भएका धनराज आचार्यले आफ्ना् चल, अचल सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
बुधबार मेयर आचार्यले महानगरको वेबसाइटको प्रोफाइलमा बायोडाटासँगै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक सम्पत्ति विवरण मेयर आचार्यसँग सम्पत्ति नै सम्पत्तिको पोको रहेको देखिन्छ । मेयर आचार्यसँग अहिले खुद ४३ करोड ६१ लाख ४५ हजार ६१६ रूपैयाँ बराबरको सम्पत्ति रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ।
कति वटा घर ?
जारी सम्पत्ति विवरणअनुसार मेयर आचार्यसँग अहिले पोखरा र काठमाडौंमा गरि चारवटा वटा घर रहेको उल्लेख छ ।
मेयर आचार्यले श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । पोखरा महानगरपालिका–९ मा २८९ वर्गमिटर जग्गा र दुई वटा घर श्रीमतीको नाममा गरि ९ करोड २५ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको भनिएको छ ।
यस्तै, काठमाडौंको सितापाइला–४ मा ९२५.६० वर्गमिटरमा १ करोड ८५ लाख बराबरको घरजग्गा श्रीमतीको नाममा रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यस्तै, मेयर आचार्यको नाममा पोखरा–११ मा ३ करोड ५० लाख बराबरको घरजग्गा रहेको उल्लेख छ ।
जमिन कति ?
दोलखाको हेवामा ५८.७ रोपनी जग्गा मेयर आचार्यको नाममा रहेको छ ।
गाडी ?
जारी सम्पत्ति विवरणमा मेयर आचार्यसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको छ ।
बैंक ब्यालेन्स कति ?
अहिले मेयर आचार्यले बैंकमा १५ लाख नगद राखेको सम्पत्ति विवरणमा उल्लेख छ ।
शेयर कति ?
मेयर आचार्यसँग २५ करोड ९९ लाख ४५ हजार ६१६ रुपैयाँ बराबरको शेयर विभिन्न कम्पनीमा रहेको छ ।
सुन चाँदी कति ?
अहिले मेयर आचार्यसँग ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको छ। मेयर आचार्यले सम्पत्ति विवरणमा बावुको नाममा रहेको सम्पत्ति समावेश गरेका छैनन्।
ऋण ?
मेयर आचार्यले विभिन्न बैंक, फाइनान्स र साथीभाइसँग २ करोड ८५ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।