अर्थमन्त्री प्रकरण : खोजिएको सीसीटीभी फुटेज फेला परेन, अनुसन्धान गर्न ३ दिन बाँकी
  • मूलधार

काठमाडौं । बजेट बनाउँदा बिचौलिया घुसाइएको भन्दै सडकदेखि सदनसम्म विरोध भएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति नै गठन गरियो । असार २२ मै छानबिन समितिले काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

२८ गते मंगलबारबाट सुरु भएको अनुसन्धान एक हप्ता बितेको छ । १० दिन बित्न ३ दिन बाँकी रहँदा बजेट बनाउँदा अनधिकृत व्यक्ति अर्थमन्त्रालय प्रवेश गरेर करका दर हेरफेर भएकै हो त ? भन्ने विषयमा अहिलेसम्मको अनुसन्धानले कुनै मेसो भेटाएको छैन । तैपनि, समितिले अझैँ थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

समितिले अब सीसीटीभी फुटेज रिकभर गर्ने विषयमा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान र प्रहरीको साइबर ब्यूरोका विज्ञसँग छलफल गर्ने तयारी गरेको छ । अहिलेसम्मको अनुसन्धानले सीसीटीभी फुटेज फेला नपरेपछि बजेट बनाउँदा असम्बन्धित मान्छे प्रवेश गरेको हो कि होइन भन्नेमा समिति कुनै निष्कर्षमा पुगेको छैन ।

अहिलेसम्म मन्त्रालयका अधिकारीहरूसँगको सोधपुछमा कसैले कोही मान्छेहरू नआएको भनेका छन् । सचिव, उपसचिव र सहसचिव सबैको एउटै स्वर रहेको । उनीहरुले कसैले स्थलगत निरीक्षणमा बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश नगरेको बताएका छन् । अहिलेसम्मको अनुसन्धानमा खोजिएको सीसीटीभी फुटेज नपाएको अवस्थामा के गर्ने ? भन्ने विषयमा छलफल भइरहेको पनि बताइएको छ ।

समितिका अनुसार अर्थ मन्त्रालयले बुझाएको हार्ड ड्राइभ र प्रणालीमा फुटेजमा बजेट सार्वजनिक भएको अघिल्लो दिन जेठ १४ गते रातिको सीसीटीभी फुटेज खोजी गर्दा फेला परेको छैन । अब यस विषयमा अनुसन्धान अघि बढाउने समितिको योजना छ । जेठ १४ गते रातिको सीसीटीभी फुटेज फेला नपरेपछि अब सीसीटीभी फुटेज रिकभर गर्ने समितिले कदम अघि बढाएको छ ।

समितिसँग अर्थमन्त्रालयले दिएको सीसीटीभी फुटेज स्टोर गर्न सकिने हार्डड्राइभ र प्रणाली रहे पनि अहिलेसम्म बजेट बनाउँदा बिचौलिया व्यक्ति प्रवेश नभएको भेटिएको छ । अब, समितिले जनार्दन शर्मासँग पनि बजेट निर्माण भएकोबारे छलफल गर्ने कार्यसूची छ । समितिमा सांसदहरु लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव छन् ।

  • July 18, 2022 प्रकाशित
  • सम्बन्धित