देउवालाई खरो प्रश्न गर्ने सागर देउवासँग चुनाव भिड्ने
  • मूलधार

सागर : लि क्वान यूलाई सिंगापुर दिँदा खेरी ढुँगा दिइएको थियो, उनले हीरा बनाए । तर, नेपाललाई तपाईंलाई दिँदा हीरा दिइएको थियो, तपाईंले ढुंगा बनाउनुभयो । यसको कारबाही कसलाई गर्ने ?

सिंगांपुर, चीन, अमेरिका, बेलायतलगायतका देशमा अति उत्कृष्ट विद्यार्थीहरुमात्र प्रधानमन्त्री भएका छन् । उदाहरणका लागि बेलायतका सम्पूर्ण प्रधानमन्त्रीहरु अक्स्फोर्ड विश्वविद्यालयका छन् । नेपालको विगत ७० वर्षदेखि हामीले हाम्रो मन बुझ्ने प्रधानमन्त्री कुन चाहिं पायौं ?

देउवा : तपाईं बर्ता बोल्दै हुनुहुन्छ । नेपालमा जुन विश्वविद्यालय छ, त्यही पढ्ने हो । यहाँ अक्स्फोर्ड कताबाट ल्याउने ?

काठमाडौं । पाँच वर्षअघि बीबीसी नेपाली सेवाद्वारा सञ्चालित कार्यक्रम ‘साझा सवाल’ मा सागर ढकालले तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कडा प्रश्न गरेका थिए । प्रश्नको जवाफमा तत्कालीन प्रधानमन्त्री देउवाले ‘बर्ता’ नबोल्न भन्दै प्रश्नकर्ता ढकालमाथि आक्रोशित भएका थिए । कार्यक्रम सञ्चालक थिइन्, विद्या चापागाईँ ।

५०० अंकको कार्यक्रममा अहिलेका प्रधानमन्त्री देउवालाई कडा रुपमा प्रश्न तेर्साउने तीनै गुल्मीका युवा सागरले आगामी प्रतिनिधिसभाको निर्वाचनमा देउवासँग उनकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने भएका छन् ।

साझा सवालको कार्यक्रमले ‘हाइट’ बढाइदिएका यीनै युवाले आगामी चुनावमा देउवाको निर्वाचन क्षेत्र डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका छन् । उनले फेसबुकमार्फत डडेलधुराबाट चुनावमा उठेर वर्तमान प्रधानमन्त्री देउवालाई ससम्मान पूर्ण वृद्ध भत्तासहित आराम दिने निर्णय गरेको पनि भनेका छन् ।

को हुन् त ढकाल ? ढकालले पुल्चोक इन्जिनियरिङ कलेजबाट स्नातक र विश्व प्रख्यात अक्स्फोर्ड विश्वविद्यालयबाट मास्टर्स पूरा गरेका छन् । यसका साथसाथै उनले ऊर्जा तथा जलस्रोत मन्त्रालय हुँदै चीन, जोर्डन, इजरायल, प्यालेस्टाइनलगायतका देशमा पुगेर कार्य अनुभव बटुलिसकेका छन् । आगामी निर्वाचनमा त्यहिँ संगालेर राखेका अनुभवलाई प्रयोग गर्ने र देश बनाउन अग्रसर हुने उनको योजना छ ।

  • July 18, 2022 प्रकाशित
  • सम्बन्धित