प्रचण्डले भारत भ्रमणबाट लिएर आए एउटा ‘आश्चर्यको पोको’ !
  • मूलधार

काठमाडौं । नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन तीन दिने भारत भ्रमण सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर आइतबार स्वदेश फिर्ता भएका हुन् । भ्रमणका क्रममा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भने पनि नभेटी स्वदेश फिर्ता भए । प्रधानमन्त्री मोदीसँग भेटवार्ता नभए पनि भ्रमण सोचेभन्दा फलदायी र उपलब्धीमूलक भएको अध्यक्ष प्रचण्डले स्वदेश फिर्ता भएपछि त्रिवि विमानस्थलमा पत्रकारसँग भने ।

गएकै दिन नेपालका लागि पूर्व भारतीय राजदूत विनय क्वात्रासँग लामो डिनर मिटिङ भएको र सकारात्म र रचनात्मक कुरा भएको पनि उनले बताए । त्यसपछि क्रमशः विशेष राजनीतिक भेटघाट भएको पनि उनले सुनाए ।

प्रचण्डको भारत भ्रमण र कोसेली

आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भारत भ्रमणका बारेमा प्रचण्डले ब्रिफिङ दिएका थिए । प्रचण्डले थिंक ट्यांकको कार्यक्रममा १९५० को सन्धि पुनरावलोकन, सीमा सम्बन्धि समस्या समाधान गर्ने, डुबानसँग सम्बन्धित समस्या, व्यापार घाटा कम, इपीजीको प्रतिवेदन सार्वजनिक गरेर अघि बढ्ने कुराका विषयमा बोलेको बताए । साथै, भारतीय नेताहरुसँगको भेटमा पनि यीनै विषयवस्तुहरुको वरिपरि बसेर कुरा गरेको उनले बताए ।

प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा फरक महशुस नभएको बताएका प्रचण्डले भारतीय विदेशमन्त्री जयशंकरसँग विशेष संवाद भएको पनि बताए ।

यसैगरी रुसबाट आउने तेल सस्तोमा नेपाल ल्याउन र नेपाललाई राहत दिने विषयमा पनि कुरा भएको प्रचण्डले प्रेस ब्रिफिङमा भने । यस्तै, खाद्यान्नको विषयमा पनि कुरा भएको उनले बताए । यी तमाम विषयमा भएका कुराकानीले आशावादी र विश्वस्त भएर स्वदेश फिर्ता भएकोले भ्रमणले केही न केही सकारात्मक दिशा पहिचान गर्ने उनको भनाइ थियो ।

आश्चर्यको पोको !

अध्यक्ष प्रचण्डले विश्वको सबैभन्दा ठूलो दल चिनियाँ कम्युनिष्ट पार्टी रहेको भन्ने बुझाइ भारत भ्रमणले चिरेको पनि बताए । उनका अनुसार चिनियाँ पार्टीमा ९ करोड पार्टी सदस्य रहेको छ भन्ने बुझाई भारत पुगेर बीजेपीसँग १७ करोडभन्दा बढी पार्टी सदस्य रहेको भन्नेले छ्यांगै बनाइदिएको छ ।

उनले विमानस्थलमा पत्रकारहरुसँग भने :

संसारको सबैभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी हो । हिजो ओभरायको होटेलमा डिनर आयोजना गरिएको थियो । त्यहाँचाहिँ अलि बढी बीजेपीको बारेमा भयो । बीजेपीको बारेमाचाहिँ के रहेछ भने हामीलाई यति लाग्दैन थियो, मलाई पनि संसारकै ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी हो, त्यहाँ चाहिँ ९ करोड पार्टी सदस्य छन् भन्ने नै बुझाइ थियो तर अहिले उहाँहरुले (बीजेपी) १७ करोड १७ करोडभन्दा बढी सदस्य रहेको पार्टीको रुपमा संसारकै ठूलो पार्टी बीजेपी हो भन्ने अहिले व्याख्या विजयजीले गर्नुभयो । अब त्यो केही महिनापछि २० करोड पुग्दैछ भन्ने पनि आंकलन राख्नुभयो, बडो इन्ट्रेस्टिङ ! मैले बीजेपी र आरएसएस सम्बन्धको बारेमा, आरएसएस संघ र बीजेपी पार्टी विकासको बारेमा गम्भीर चर्चा भए । अन्त त यो बुझ्ने प्रयास भए ।

त्यो थाहा भएन

भाजपा अध्यक्षको निम्तो स्वीकार गरेर भारत भ्रमण पुगेका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग के कारणले अन्तिम घडीमा भेट भएन त्यो थाहा नभएको उनले बताए । प्रचण्डले भने, ‘लास्ट आवरमा के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन ।’

  • July 17, 2022 प्रकाशित
  • सम्बन्धित