काठमाडौं । नेकपा एमालेले एम अधिकारी अर्थात नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पार्टीको अर्थ तथा योजना विभागको सदस्य नभएको भन्दै बाहिर छाएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
पत्र नै कोरेर एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य खोटाङका एम अधिकारी अर्थात् राष्ट्र बैंकका गभर्नर अधिकारी हुन भनेर उल्लेख भएको समाचार झूटो रहेको भनेको छ ।
तर, एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी होइनन् भने ती व्यक्तिचाहिँ आखिर को हुन् त ? यदि एम अधिकारी भन्ने व्यक्ति गभर्नर अधिकारी होइनन् र नाम मिल्न गएको हो भने त्यसको जवाफ खोइ ? एमालेले यस बारेमा स्पष्ट भनेको छैन ।
एमालेका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नभएको मात्र भनेका छन् । एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् र नाम जुधेको हो भने ती व्यक्ति को हुन् भन्नेबारे पत्रमा उल्लेख छैन ।
पत्रमा खाली एम अधिकारी भनी उल्लेखित व्यक्ति गभर्नर अधिकारी होइनन् भनिएको छ । एम अधिकारी र गर्भनर अधिकारी छुट्टाछुट्टै हुन् भन्ने प्रमाण पत्रमा देखिँदैन । पत्र हेर्दा एम अधिकारी गभर्नर अधिकारी होइनन् भन्दै केवल गभर्नर अधिकारीको बचाउ गरिएको मात्र देखिन्छ ।
एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा राखेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति भने गभर्नर अधिकारीले एमालेलाई पत्र लेखेर जवाफ मागेका छन् । र, त्यहिँ जवाफमा एमालेले एम अधिकारी भनेको गभर्नर अधिकारी नभएको स्पष्ट पारेको छ ।
गभर्नर अधिकारीले पत्रमा आफू कुनै पनि दलको सदस्य नरहेको पनि भनेका छन् । साथै, आफू कुनै दल विशेषको समितिमा रहने, बस्ने भन्ने कुरा कल्पना बाहिरको विषय भएको पनि उनले पत्रमा भनेका छन् ।