विद्युतकर्मी साहित्यिक समाजले भानुभक्तलाई सम्झियो : ‘पुस्तकसँग पाठक’ कार्यक्रम सम्पन्न
  • मूलधार

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको उपलक्ष्यमा नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले ‘पुस्तकसँग पाठक’ विषयक परिचर्चामूलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरी विधिवत रूपले सुरु भएको कार्यक्रम नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयको ‘रुफ टप’ हलमा बुधबार सम्पन्न भएको हो।

कार्यक्रममा प्राधिकरणसँग आबद्ध १० जना परिचर्चाकारहरूले विभिन्न लेखकका कृति/ रचना पढ्दा आफूमा उत्पन्न भएको पठन प्रभावका साथै ती कृति/ रचनाको भाव, भाषाशैली, पात्र, परिवेश, समसामयिक सन्दर्भ आदि विविध पक्षका बारेमा आआफ्नो धारणा राखेका थिए।

कार्यक्रममा स्पेन्सर ‘जोनसन एण्ड अल’को कृति ‘वन मिनेट म्यानेजर’ का बारेमा राजन फुँयालले चर्चा गरेका थिए भने भानुभक्त आचार्यकृत ‘बधूशिक्षा’ का बारेमा हरिप्रसाद घिमिरे, कमलेश डि पट्टेलको ‘डिजाइनिङ डेस्टिनी’ पुस्तकका बारेमा चिरन्तन विक्रम राणा, वाल्मीकि रामायणका बारेमा तुलसी प्रसाद सापकोटा एवम् सरुभक्तको ‘समय त्रासदी’ उपन्यासका बारेमा मनोरन्जन मल्ल ठकुरीले पाठकीय प्रतिक्रिया व्यक्त गरेका थिए।

त्यस्तै वि.पि. कोइरालाको ‘मधेशतिर’ कथाका बारेमा हरिप्रसाद अधिकारीले समीक्षात्मक धारणा राखेका थिए भने भोला शर्माले अमर न्यौपानेको ‘सेतो धर्ती’, शारदादेवी भट्टराई पोखरेलले पुष्प नाथ शर्माकृत ‘गर्भे सुवेदार’, यादवराज घलेले हृदयचन्द्र प्रधानको ‘एक चिहान’ उपन्यास तथा पुण्य घिमिरेले राहुल सांकृत्यायनको ‘दिमागी गुलामी’ कृतिका बारेमा परिचर्चा गरेका थिए।

कार्यक्रममा मूलतः साहित्यिक र केही गैरसाहित्यिक कृतिका बारेमा चर्चा गरिएको थियो। कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कार्यक्रमका विशेष अतिथि तुलाराम गिरीले समापन मन्तव्य राखेका थिए। उनले विविध स्वादका कार्यक्रमको उत्पादनले नव प्रतिभाहरू जन्मने र यसबाट वाङ्ममयको फाँटमा जीवन्त रचनाहरू फस्टाउन मद्दत पुग्नेमा खुसी व्यक्त गरे।

सो अवसरमा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले पठन संस्कृतिका साथै नेतृत्व विकास गर्ने उद्धेश्यले नौलो कार्यक्रमको परिकल्पना गरिएको बताए । समाजका कार्यसमिति सदस्य सङ्गीता अधिकारी पौडेलले समाजको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् भने सो कार्यक्रमलाई समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले सञ्चालन गरेका थिए।

करिब साढे दुई घण्टा सञ्चालन भएको सो कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशकहरू, निर्देशकहरु, उच्च पदस्थ अधिकारीहरू, ट्रेड युनियनका प्रतिनिधि तथा साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम समापनपछि दर्शक/स्रोताको भूमिकामा रहेका कर्मचारीहरूले पनि आफूले अध्ययन गर्न नपाएको पुस्तकको बारेमा ज्ञान हासिल गर्ने सुनौलो अवसर पाएको भनी खुसी व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी वक्ताहरूले विभिन्न सन्दर्भमा पटक पटक भानुभक्तको योगदानलाई सम्झिएर उनको रचना वाचन गरेका थिए।

  • July 13, 2022 प्रकाशित
  • सम्बन्धित