श्रीलंका : प्रदर्शनकारीहरुले कब्जामा लिए प्रधानमन्त्री कार्यालय पनि (तस्वीर)
  • मूलधार

काठमाडौं । आर्थिक रुपमा जर्जर बनेको श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपतिको निवासपछि प्रधानमन्त्री कार्यालयभित्र पसेका छन्।

बुधबार बिहानै प्रधानमन्त्री कार्यालयअघि प्रदर्शन मच्चाउदै आएका प्रदर्शनकारीहरू अन्ततः हुलहुज्जतसहित प्रधानमन्त्री कार्यालयभित्र पसेका हुन् ।

प्रदर्शनकारीहरूलाई प्रधानमन्त्री कार्यालभित्र जान रोक्न सुरक्षाकर्मी तैनाथ थिए । तैपनि पनि असंख्य प्रदर्शनकारीको संख्यालाई सुरक्षाकर्मीले रोक्न सकेन । र, अन्ततः प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएको छ ।

प्रदर्शनकारीलाई तर्साउन, भगाउन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार पनि गरेको थियो । तर, अश्रुग्यासको पर्वाह नगरी प्रदर्शनकारीले सुरक्षाकर्मीलाई पाखा लगाएर बुधबार प्रधानमन्त्री कार्यालय आफ्नो कब्जामा लिएका छन् ।

राष्ट्रपति गोटवाया राजापाक्षे अहिले भागेर माल्दिभ्स पुगेका छन् । उनले बुधबार राजीनामा दिने भने पछि प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति बनाएका छन्। राष्ट्रपतिको उक्त कदमविरुद्ध उत्रिएका प्रदर्शनकारीहरूले विक्रमासिंघेले पनि राजीनामा माग गर्दै प्रधानमन्त्री निवास कब्जामा लिएका छन्।

गत शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जामा लिएर अनेक हर्कत प्रदर्शन गरेका थिए। त्यतिबेला राष्ट्रपति निवास कोही खाना पकाउने, कोही खेल्ने, कोही नाचेको तस्वीरले विश्व जगतको ध्यान खिचेको थियो ।

राष्ट्रपति निवासमा प्रदर्शनकारीहरु छिर्दा सैनिक जहाजमा सवार भएर राष्ट्रपति राजापाक्षेले त्यहिँबाट प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका हुन्।

अहिले प्रदर्शनकारीहरु राजापाक्षे र विक्रमासिंघे दुबैले राजीनामा दिनुपर्ने मागसहित प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । दुवैले राजीनामा दिएपछि नयाँ सरकार बन्नुपर्ने र प्रदर्शन स्थगन हुने अपेक्षा रहेको छ ।- एजेन्सीहरूकाे सहयाेगमा

  • July 13, 2022 प्रकाशित
  • सम्बन्धित