नेपाललाई हिन्दू राष्ट्र कायम गरौँ, प्रदेश खारेज गरौँ : भीम पराजुली
  • मूलधार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् ।

बुधबार बसेको केन्द्रीय समिति बैठकमा पराजुलीले कांग्रेसले हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउन र धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न माग गरेका हुन् ।

बैठकमा पराजुलीले लिखित रुपमा आफ्नो भनाइ राखेका थिए । ‘वैदिक सनातन धर्मको मूल्य मान्यता अनुसार हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाई नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाई धार्मिक स्वतन्त्रता कायम गथर्न केन्द्रीय कार्यसमितिमा प्रस्ताव राख्न चाहन्छु,’ उनले लिखित रुपमा भने ।

नेता पराजुलीले हिन्दू राष्ट्रको एजेण्डाले कांग्रेसलाई हित गर्ने भन्दै यो एजेण्डाको नेतृत्व कांग्रेसले लिनुपर्ने पनि बताए ।

नेता पराजुलीले अहिलेकै अवस्थामा प्रदेश सरकार चलिरहे देशमा यो भन्दा ठूलो बेथिति र जनतामा वितृष्णा पैदा हुने पनि बताएका छन् । उनका अनुसार प्रदेश सरकार बलियो नबनाउने हो भने खारेज गर्दा उत्तम हुने पनि बताए ।

  • July 13, 2022 प्रकाशित
  • सम्बन्धित