वडाध्यक्षले सडकमै खोले वडा कार्यालय !
  • मूलधार

काठमाडौं । दुई वर्षमा बनाउनुपर्ने भक्तपुर–नगरकोट सडक नौ वर्षसम्म पनि नबनेपछि चाँगुनारायण नगरपालिका वडा न. ६ का वडाध्यक्ष धनबहादुर लामाले सडकमै वडा कार्यालय खोलेका छन् ।

नौ वर्षसम्म सडक निर्माण नगरेपछि सोमबार बिहान त्यसको विरोध गर्दै वडाध्यक्ष लामाले सडकमै टेबुल र नेमप्लेट राखेर कार्यालय सञ्चालन गरेका हुन् ।

वडाध्यक्ष लामाले टेबुल कुर्सीसहित सडकमा बसेर सेवाग्राहीका काम गरेका छन् । भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर भन्ने ब्यानर टाँसेर वडाध्यक्ष लामा सांकेतिक विरोधमा उत्रिएका छन् ।

अहिले उक्त सडकखण्डमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । सडक खण्ड दुई वर्षमा सम्पन्न गर्ने गरी २०७१ असार २ मा शैलुङ कन्ट्रसनसँग सम्झौता भएको थियो ।

सडकमै कार्यालय खोलेका वडाध्यक्षले यति गर्दा पनि बेवास्ता गरिएको खण्डमा नगरपालिकाले सबै जिम्मेवारी लिनुपर्ने बताए । उनले भने, ‘धेरै समय भयो सडक बनेनन् ठेकेदार र सरकारको ध्यानाकर्षण गर्न मैले सडकबाट नै जनताको काम गरेको हुँ । अरु कार्यक्रमहरु पनि रहेका छन्, यति गर्दा पनि वास्ता नगरे नगरपालिका सबै सडकमा आएर काम गर्नेछ ।’

  • July 11, 2022 प्रकाशित
  • सम्बन्धित