चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौंमा
  • मूलधार

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीका (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौं आइपुगेका छन् । राजनीतिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका उनले आजैदेखि यहाँका प्रमुख नेताहरुसँग उच्चस्तरीय भेटवार्ता सुरु गर्दैछन् ।

चीनकै विशेष विमानबाट ६ सदस्यीय टोलीसहित लिउ काठमाडौँ आएका हुन् । उनलाई बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेलले स्वागत गरेका थिए । सो क्रममा सबै प्रमुख दलका विदेश विभाग हेर्ने नेताहरु पनि उपस्थित रहेको जनाइएको छ ।

४ दिने भ्रमणमा काठमाडौं आएका लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम रहेको छ । सो भेटमा चिनियाँ प्रोजेक्ट बिआरआई लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

यसैगरी उनले भोलि सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गर्ने तय भएको छ । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ ।

बुधवार लिउको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन उनी स्वदेश फर्कनेछन् । यी चार दिनसम्म विदेश विभाग प्रमुख लिउ होटल द्वारिकामा रहनेछन् ।

गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो । नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ । विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा(एमाले)का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद समेत गरेर सम्बन्ध सुमधुर बनाउन खोजेका थिए ।

  • July 10, 2022 प्रकाशित
  • सम्बन्धित