काठमाडौं । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले आबेको हत्याको घोर भत्सर्ना गर्दै उनको निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हाे ।
चुनावी सभालाई सम्बोधन गरिहेका बेला आबेको शुक्रबार गोली हानी हत्या भएको थियो । गोली लागेर ढलेका उनलाई अस्पताल पुर्याइएको थियो तर अस्पताले लगत्तै मृतक घोषणा गरेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् ।
प्रधानमन्त्री देउवाले ट्विटमा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुस्खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’
ओलीले पनि आबेको निधनप्रति दुख व्यक्त गर्दै ट्वीटमार्फत भनेका छन्, ‘पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्दछु । आबे नेपालको मित्र हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रधानमन्त्री हुँदा नेपाल(जापान सम्बन्धलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, यस दुस्खद घडीमा उहाँको शोक सन्तप्त परिवारमा मेरो विचार र हार्दिक समवेदना छ ।’