विराटनगर महानगरका पूर्वउपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
  • मूलधार

काठमाडौं । विराटनगर महानगरपालिकाका पूर्वउपप्रमुखसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर इन्दिरा कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा वास्तविकताभन्दा बढी भुक्तानी गरिएको उजुरीका आधारमा अनुसन्धानपछि आयोगले भ्रष्टाचार ठहर गर्दै मुद्दा दायर गरेको छ। यस्तै, उपभोक्ता समितिसँगको सम्झौँताअनुसार निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामीद्वारा गर्नुपर्ने माटो फिलिङ्गको कार्य रोलर मेसिनद्वारा गराई उक्त कार्यलाई ज्यामीद्वारा गरेको भनी गैरकानूनी लाभ प्राप्त गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेर कागजातहरु स्वीकृत गरी भुक्तानी दिइएको अनुसन्धानका क्रममा आयोगले प्रमाण फेला पारेको छ ।

आयोगले एकदेव अधिकारी, गोपाल पोखरेल, पुष्पक प्रधान र मो। इफतेखार आलमलाई १० लाख ५५ हजार ९७९ रुपैयाँ ४८ पैसा बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपरको मागदाबी सहित आरोपपत्र दायर गरेको छ ।

  • July 8, 2022 प्रकाशित
  • सम्बन्धित