बागमती प्रदेश : कांग्रेस र माओवादी हच्किए, मुख्यमन्त्री पाण्डे रमाए
  • मूलधार

काठमाडौं । पाँच दलीय गठबन्धनभित्र पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच खास बागमती प्रदेशको मुख्यमन्त्री ६ महिनामात्रै बन्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । तर, उक्त म्याद सकिँदा पनि एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे पदबाट हट्न मानेनन् ।

पदबाट हट्न नमानेपछि कांग्रेसले पहिले सार्वजनिक नगरिएको सहमति पत्र नै सार्वजनिक गरेर मुख्यमन्त्री पाण्डेलाई हटाउन हस्ताक्षर अभियान चलायो । तैपनि मुख्यमन्त्री पाण्डेलाई पदबाट हटाउन असफल देखिएको छ ।

कारण, सरकार गठनकै बेला कांग्रेसले २, नेकपा माओवादी केन्द्रले २, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ प्रदेशको मुख्यमन्त्री लिने सहमति बनेको थियो । अहिले त्यहिँ गठबन्धन दलहरुबीच भएको सहमतिलाई आधार मानेर एकीकृत समाजवादीले मुख्यमन्त्री पाण्डेको राजीनामा मागे सातै प्रदेशको मुख्यमन्त्री हेरफेर गर्नुपर्ने चट्टानी अडान अघि सारेको छ ।

कांग्रेस बागमतीको मुख्यमन्त्री फेर्न खोजे पनि माओवादी भने मुख्यमन्त्री फेर्ने मुडमा छैन । माओवादीले त गठबन्धनका शीर्ष नेताहरुलाई मुख्यमन्त्री फेरबदलमा नलाग्न निर्देशनै दिइसकेको छ ।

अहिले गठबन्धन दलहरुबीच भएको त्यहिँ सुरुवाती सहमतिको जगमा टेकेर बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे आगामी प्रदेशको निर्वाचनसम्म पदमै रहने भएका छन् । यसअघि बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले सहमतिविपरीत पाण्डे अघि बढेको भनदै लिखित सहमति पत्र नै सार्वजनिक गरेका थिए ।

बानियाँले स्थानीय तह चुनावमै मुख्यमन्त्री पदमा आसिन हुने तत्परता देखाएका थिए । तर, सम्भव भएन । स्थानीय निर्वाचन सकिएपछि मुख्यमन्त्री पाण्डेलाई सहमति पत्र सम्झायो । मुख्यमन्त्री पाण्डेले बजेट ल्याएपछि पद छाड्ने बचन दिए ।

बजेट पास भएपछि पनि मुख्यमन्त्री पाण्डेले पद छाड्न नमानेपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेश सांसदहरुले हस्ताक्षर संकलन गरे । तर, एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री हटाउने हो भने सातै प्रदेशको मुख्यमन्त्री हेरफेर गर्नुपर्ने भनेपछि कांग्रेस र माओवादी बागमतीको मुख्यमन्त्री हेरफेर गर्नबाट हच्किन पुगेका छन्।

  • July 5, 2022 प्रकाशित
  • सम्बन्धित