रौतहट । विद्यालय शिक्षाको मन्दिर हो, बालबालिकाको भविष्य बनाउने थलो पनि । तर, त्यहिँ थलोमा विद्यार्थीलाई पढाउने शिक्षकले भने मदिरा पार्टी आयोजना गरेर असार १५ मनाएका छन् ।
यो घटना हो, रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ धनारी गाउँमा रहेको श्री माध्यमिक विद्यालय धनारीको । जहाँ शिक्षकहरुले विद्यालयभित्रै मदिरा पार्टी आयोजना गरेर एकैपटक पर्ने पर्व ‘राष्ट्रिय धान दिवस’ र ‘दही चिउरा खाने दिन’ मनाए ।
असार १५ गते विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुले विद्यालयमा भोज गरे । विद्यालयको प्रशासनिक कोठामा आयोजना गरिएको उक्त मदिरा पार्टीसहित भोजको भिडियो स्थानीय युवाहरुले खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि हल्लीखल्ली भएको थियो । सार्वजनिक भएको उक्त भिडियोपछि शिक्षकहरुको तीव्र आलोचना भइरहेको छ ।
भिडियोमा कोठाभित्र महिला शिक्षकसहित अन्य शिक्षकहरु बसेर मस्ती गरिरहेको देखिन्छ । भाँडोमा मासु राखिएको छ, प्लेटमा मासु चिउरा, शिक्षकहरुको अगाडि वियरको बोतल, अर्का एक युवक हातमा भोड्का लिएर उभिएको भिडियोमा ।
बालबालिकाहरुलाई भविष्य बनाउन डोराउने शिक्षालयकै शिक्षकहरुले यस्तो उपद्रो गरेपछि बालबालिकाले यसबाट के सिक्ने ? बालबालिकालाई रक्सी, चुरोट, सुर्ती खान हुन्न भनेर सिकाइने थलोमै शिक्षकहरु आफै निषेधित क्षेत्र तोडेपछि यस्ले दिने सन्देश के ? विद्यालय परिसरभित्र रक्सी खाएर मात्ने शिक्षकलाई सरकारले कारबाही गर्ने कि नगर्ने ? कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा भएको यस्तो हर्कतविरुद्ध स्थानीयहरु एकजुट भएका छन् ।
यता, विद्यालयका प्रधानाध्यापक कपिलदेव प्रसाद यादव भने आफूहरुबाट धेरै ठूलो गल्ती भएको स्विकार्दै सार्वजनिक रुपमा माफी मागेको पनि बताएका छन् । उनका अनुसार शिक्षाको मन्दिरमा शिक्षकले रक्सी खानु नैतिकताहिन हो ।
उनले आफूहरुले भित्रैबाट यस कार्यको आत्मालोचना गरेको र आागमी दिनमा यस्तो हर्कत नदोहोरिने पनि प्रतिबद्धता जनाए । उनले भने, ‘हामीबाट ठुलो भूल भएको छ । यो घटनाले हामीले नैतिकता गुमायौं । त्यसको लागि हामी आत्मालोचना सहित सबैसँग माफी माग्छौं ।’