टाट पल्टिएको आयल निगमले वाणिज्य बैंकबाट लियो ३ प्रतिशत ब्याजदरमा ३ अर्ब ऋण, अब उक्सिएला ?
  • मूलधार

काठमाडौं । घाटामा चलेर टाट पल्टिएको नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले ३ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ ऋण प्रदान  गरेकाे छ । टेकुको २९ रोपनी जग्गा धितोमा राखेर बैंकले बजारमा चलेको भन्दा न्यून ब्याजदरमा निगमलाई ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो ।

अर्थमन्त्रालय स्रोतले जानकारी दिएअनुसार वाणिज्य बैंकले ३ प्रतिशत ब्याजमा निगमलाई ३ अर्ब रुपैयाँ ऋण दिन सहमति गरेको छ । मंगलबार अर्थमन्त्रालयमा ३ प्रतिशत ब्याजमा ऋण दिने विषयमा सहमति भएर सम्भवत बुधबार नै पैसा निकासा गर्ने निर्णय पनि भइसकेको बताइएको छ ।

स्रोतका अनुसार ऋणको जमानीमा सरकार आफैँ बसेको छ भने कदमकदाचित निगमले उक्त ३ अर्ब ऋण तिर्न नसकेको खण्डमा सरकारले त्यसको जिम्मेवारी लिने भनिएको छ ।

यता, राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिवेश प्रसाद लोहनीले भने निगमले बैंकबाट कर्जा लिने सन्दर्भमा आफूलाई थाहा नभएको बताएका छन् । उनले ३ प्रतिशत ब्याजको विषयमा पनि आफुलाई केही थाहा नभएको बताएका छन् ।

भारतबाट महँगोमा पेट्रोलिय पदार्थ किनेर नेपालमा सस्तोमा बेचिरहेको निगमले पटक पटक संस्था घाटामा रहेको र विकल्प खोज्नुपर्ने विज्ञप्ति जारी गर्दै आएको छ ।

  • June 30, 2022 प्रकाशित
  • सम्बन्धित