बागमतीका मुख्यमन्त्री पाण्डे पदबाट हट्न ‘अटेर’ गरेपछि हस्ताक्षर संकलन सुरु
  • मूलधार

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री फेर्न कसरत सुरु भएको छ । सहमतिबमोजिम नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले पद नछाडेपछि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री फेर्न कसरत अघि बढाएको हो ।

गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एसका पाण्डेले सहमतिलाई नमानेर पदमै बसिरहने आकांक्षा देखाएपछि कांग्रेस र माओवादी केन्द्रका प्रदेश सांसदहरुले मुख्यमन्त्री फेर्न बिहीबारदेखि हस्ताक्षर संकलन सुरु गरेका छन् ।

गएको कात्तिक ११ गते ६ महिनाका लागि भनेर गएका पाण्डेले ८ महिना बितिसक्दा पनि पद छाड्न नमानेको गठबन्धन दल कांग्रेस र माओवादी सांसदहरुको आरोप छ । गठबन्धनमा आबद्ध भएपछि गरिएको सहमति नमानेपछि केही समयअघि कांग्रेसले उतिबेला भएको सहमति पत्र नै सार्वजनिक गरेको थियो ।

यसरी बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भए पनि मुख्यमन्त्री पाण्डेले सहमति मान्न पछि सरेका छन् । र, उनलाई सहमतिमै उभ्याउन हस्ताक्षर संकलन सुरु गरिएको बताइएको छ ।

  • June 30, 2022 प्रकाशित
  • सम्बन्धित