त्यो असार १५, यो असार १५
  • रुम्दाली साइलो

काठमाडौं । असार १५, धान दिवस र दही चिउरा खाने दिन पनि हो । तर, पछिल्लो समय असार १५ को मूल मर्मलाई बिर्सेर फेसनजस्तै बनाइएको छ । धान दिवसका नाममा विकृति फैलाउने परम्परालाई उच्च तहका व्यक्तिहरुले सुरु गरे । र, अहिले असार १५ भन्नेवित्तिकै खेतमा मन्त्रीहरुले के के उपद्रो मच्चाउलान् भन्ने लाग्छ । कुनै बेला असार १५ मा खेत चलचित्रको सुटिङजस्तै हुन्थ्यो । मानो रोपेर मुरी फलाउने किसानहरु पर्दा पछाडि, नक्कली किसान बनेर, बाउसे बनेर मन्त्री खेतमा धानको मालासहित पस्थे ।

एकछिन विगतलाई कोट्याउ– २०७२ सालको । त्यतिबेला तस्वीरमा छत्रे टोपी लगाउने कृषि मन्त्री हरिप्रसाद पराजुलीको । कृषि मन्त्री हुनेमा सबैभन्दा बढी चर्चामा छाउने पहिलो मन्त्री पनि हुन् उनी । कृषि विभागले धान दिवसको अवसरमा काठमाडौंको मुलपानीमा त्यतिबेला कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका मुख्य आकर्षकका केन्द्र थिए मन्त्री पराजुली । तर, धान रोप्ने दिवसमा आयोजित कार्यक्रममा मन्त्री पराजुलीले कृषि क्षेत्रको उन्नति, प्रगतिको कुरा भन्दा पनि अश्लिल हर्कत देखाइदिए ।

बिहान ११ बजे उद्घाटनका लागि बोलाइएको कार्यक्रममा मन्त्री पराजुली ३ बजे पुगे । १५ मिनेट भाषण गरे । भाषणपछि मन्त्री हिलो खेतमा पसेर बाउसे बने । हिलो खेतमा पसेको केही बेरमै मन्त्री पराजुलीले उपद्रो गरिहाले । उनले रोपाइँमा रमाइलो गर्ने बहानामा सहभागी महिलाहरूलाई जबरजस्ती अंगालो हाल्न पुगे, चुम्बन गर्न पुगे । महिलाको संवेदनशिल अंगमा जर्बजस्ती टाउँको र मुख पुर्याउन थाले ।

मन्त्रीको यस्तो हर्कलाई महिलाहरुले सुरुसुरुमा त सामान्य ठाने तर पछि अति नै भएपछि गाली गरे । पछि त्यसै काण्डले मन्त्री पराजुलीको मन्त्री पद गुम्यो । त्यसपछि अहिलेसम्म उनी मुलधारको राजनीतिमा देखिएका छैनन् ।

त्यसको ठीक एक वर्षपछिको धान दिवस पनि झनै चर्चित बन्न पुग्यो । कृषि मन्त्री हरिबोल गजुरेलले हरिप्रसाद पराजुलीले हिलोमा मच्चाएको उपद्रो देखेर होला उनी हिलो खेतबाट टाढै रहने प्रयत्न गरे । त्यसपछि उनले गमलामा धान रोपेरै त्यस वर्षको धान दिवस मनाए ।

कोरोनाको कहरको समयमा काठमाडौं उपत्यका लकडाउन थियो । एक ठाउँबाट अर्काे ठाउँमा जान केही खुकुलो भए पनि भीडभाड गर्न मनाहीँ छ । तर, यहिँ कोरोना कहरका बेला एमाले नेता महेश बस्नेतको विशेष बोलावटमा भक्तपुर पुगेर तत्कालीन एमाले प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली धान रोप्न पुगे ।

‘मानो रोपेर मुरी फलाउने’ दिन अर्थात असार १५ को धान दिवसमा तत्कालीन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ कपिलवस्तुको रोपाइँमा सहभागी भए । तिलौराकोटमा आयोजित कार्यक्रममा सहभागीहरुसँग नाच्दै–गाउँदै धान रोपे । दबदबे हिलोमा सहयोगीका साथ खेतमा विउ बोकेर पुगेका खनालले अरु सहभागीभन्दा छेउ न टुप्पो जसरी छिटोछिटो धान रोपे । त्यतिमात्रै होइन कृषिमन्त्रीले टाउकोमा समेत धानको विउ रोपे । सेतो फेटाले बाँधिएको टाउँकोमाथि धानको विउ बाँधेर रोपिएको थियो । टाउँकोमा धान, निधारमा हिलोको टिका । यो दृश्यले पनि त्यत्तिबेला खुबै सामाजिक सञ्जालमा खैलाबैला मच्चयो ।

हरिप्रसाद पराजुलीको हर्कत भएको ठीक ७ वर्षपछि २०७९ असार १५ गते ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि धान दिवस मनाएको छ । धान दिवसमा कृषि मन्त्री महिन्द्र राय यादव पाहुना थिए । पाहुना मन्त्रीले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको सुरुवात गरे । मन्त्रीले मेसिनले रोपाइँ गरे पनि अरु रोपाहारले भने हातैले धान रोपे ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री यादवले ठेकदारका कारण रासायनिक मल अभाव भएकोले अब मल ल्याउन सोच्ने बेला आएको बताए । उनले मलको ठेक्का प्रणाली सही नभएको बताउँदै प्राइभेट कम्पनीलाई मल ल्याउन दिने कि नदिने भन्ने अवस्था आएको पनि सुनाए ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको यत्तिका वर्ष वित्यो । कृषिमा क्रान्ति गर्ने नारा छँदैछ । कृषिलाई परम्परागत ढर्राबाट आधुनीकीकरणमा लैजाने सरकारको पारा भने यस्तो छ । न किसालाई बिउ, न मल । त्यसपछि कृषि क्रान्ति असार १५ को धान दिवस मनाउनसिवाय अरु केही देखिँदैन ।

सरकार आफैँले भनेको– भारतबाट वर्षेनी ३० अर्बभन्दा माथिको चामल आयात हुन्छ । यो तथ्यांक बढेर गएको छ । सरकारकै तथ्यांक अनुसार धान रोप्ने खेतीयोग्य जमिनमध्ये ६३ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्छ । तर, मन्त्रीहरुचाहिँ कृषि क्रान्तिको नाममा कोही के उपद्रो गर्ने, कोही गमलामा धान रोप्ने, अरु फोटो खिच्ने । यस्तो धान दिवसले कहाँ पुग्ला देश ?

 

  • June 29, 2022 प्रकाशित
  • सम्बन्धित