पार्टीमा श्रीमती र छोरा छन्, तर तपाईहरुले भन्नुभएको विषयहरु सत्य होइन : वामदेव गौतम
  • मूलधार

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका वामदेव गौतमले मंगलबार नेकपा एकता राष्ट्रिय अभियान नामक नयाँ पार्टी घोषणा गरे । पार्टी संयोजक गौतम रहेको राष्ट्रिय अभियानको केन्द्रीय कमिटीमा ७५ सदस्यीय रहने भनिएको छ ।

राष्ट्रिय सभाका सांसदसमेत रहेका गौतम कम्युनिष्ट अब दल दर्ताका लागि निर्वाचन आयोगमा तयारीमा छन् । तर, दल दर्ताअघि पार्टीको घोषणाकै क्रममा गौतमले केन्द्रीय सदस्यमा पत्नी तुल्सी (तुलसा) थापा र छोरा हरिषदेव गौतमलाई समेटेपछि आलोचना सुरु भयो ।

प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी थापालाई केन्द्रीय कमिटी सदस्यको दोस्रो नम्बरमा राखिएको छ भने गौतमका छोराको नाम केन्द्रीय कमिटी सदस्यको पाचौँ नम्बरमा छ ।

तर, यस विषयमा गौतमले भने परिवारको बचाउ गरेका छन् । परिवारको बचाउ गर्दै श्रीमती र छोरा पार्टीको केन्द्रीय सदस्यमा रहेको तर, पदमै बसिरहने उद्धेश्यले यस्तो कदम नचालेको उनले स्पष्टीकरण दिएका छन् ।

गौतमले आफू जहाँ जहाँ सामेल भएर काम गरेको छ त्यहाँ इमान्दारीपूर्वक, निस्वार्थ भावनाका साथ खटिएको पनि बताएका छन् । ‘
म जहाँ जहाँ सामेल हुन्छु, भएको छु, इमान्दारसाथ, बलिदानी भावनका साथ, निस्वार्थ भावनका साथ काम गरेको छु,’ उनले भनेका छन् ।

श्रीमती र छोरालाई केन्द्रीय सदस्य बनाउनुको विषयमा सत्यता के हो भन्ने विषयमा पनि उनले मुख खोलेका छन् । ‘मलाई पदमा बसिरहने आकांक्षा पूरा गर्नको निम्ति, महत्वकांक्षा बोकेर पार्टी खोल्दै हुनुहुन्छ भन्दै हुनुहुन्छ । र, तपाईका परिवारका सदस्यहरु यहिँ पार्टीमा राख्नुभएको छ भन्नुभएको छ । यो दुइटै तपाईहरुले भन्नुभएको विषयहरु सत्य होइन । पार्टीमा हुनुहुन्छ, केन्द्रीय सदस्यमा मेरा श्रीमती र छोरा तर, मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ,’ उनले भनेका छन्

गौतमले आफैले सुरु गरेको आन्दोलन धरासयी बनेको देखेपछि फेरि जाग्नुपर्ने बाध्यता आएको पनि प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘मैले पार्टीको जग हालेको ठाउँमा धेरै ठूलाठूला नेताहरु पैदा हुनुभएको छ । गण्डकीभन्दा पश्चिम मेरो जिम्मा रहेको बेला नयाँ क्रान्तिकारी नेकपा मालेको जग हालिएको थियो । मैले कुनै कम्पनी खोलेर, व्यवसाय गरेर आफ्नो व्यक्ति लाभ लिनका लागि गरेको छैन । जन्मपछि एक एक घन्टापछि समाप्त हुँदै जानुपर्छ । मैले बुझेको छु । मैले अहिले के बुझेको छु भने जीवनको आन्दोलन जे देखेर लगाएको छु त्यो धरासय बन्दैछ । त्यस्तो अवस्थामा मैले नै निर्माण गरेको पार्टी, मैले नै निर्माण गरेका आन्दोलन मैले नै हेर्नुपर्ने धरासय स्थिति सिर्जना भयो ।’

  • June 28, 2022 प्रकाशित
  • सम्बन्धित