युवाहरुको नेतृत्व हुँदैमा देश कायापलट भइहाल्ने हो र ?
  • एम.पी. खरेल

अहिले स्थानीयय तह निर्वाचनमा केहिँ स्वतन्त्र उम्मेदवारहरुको विजयीको घटनाले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा राजनीतिक नेतृत्वमा स्वतन्त्र युवा र पार्टीभित्र पनि नयाँ युवाहरु भन्ने फन्डा धेरै चलेको देखिन्छ । के राजनीतिक दलहरु स्थानीय, संघ र प्रदेशमा युवाहरुको नेतृत्व हुँदैमा देश कायापलट भैहाल्ने हो र ? हो युवाहरु राजनीतिक नेतृत्वमा आउनुपर्छ तर युक्रेनको जेलेभेन्स्की मोडेलमा होइन । निश्चित राजनीति, राष्ट्रिय, सामाजिक र सांस्कृतिक मूल्यसहित आउनुपर्छ ।

नेपालमा अहिले जे भैरहेको छ न दर्शन छ न राजनीति छ । केवल छ त अराजनीति र अराजकता ! दर्शनलाई इग्नोर गर्नेहरु उपयोगितावादी हुन् जसले कहिल्यै समाजलाई सही ढंगले हिडाउन खोज्दैनन् । समाज फाइदाका लागि जे पनि गरिदिने र भनिदिने भएपछि केन्द्रविहीन अराजकतावादी समाज चलेको छ । अहिले समाज कुनै दर्शन र सिद्धान्तमा टिकेको छैन । परम्परागत सांस्कृतिक र सामाजिक मूल्यहरु खिइँदै गइरहेका छन् । केवल टिकेको छ त– स्वार्थ र फाइदा उपयोगितावादी, उत्तरआधुनिक चिन्तकहरुले उठाएको प्रस्न नै उपयोगितामा अराजकतावादी, केन्द्रविहिन र सतही चिन्तन हावी हुने हो । जुन उपयोगितावाद राजनीति, साहित्य र सामाजिक सम्बन्धहरुमा पनि प्रयोग भइरहेको छ । यस पृष्ठभूमिमा राष्ट्रिय र विश्व राजनीतिमा युवा, वयस्क र पाको अनुभवी सबै खाले उमेर समूह निश्चित कालखण्डमा प्रयोग भएका छन्। जुन दृष्टान्त निम्नअनुसार केहि उल्लेख गर्न खोजिएको छ ।

राष्ट्रिय राजनीतिमा उमेर नेतृत्व

घरेलु राजनीतिमा युवाहरुको नेतृत्व नभएको होइन । विभिन्न कालखण्ड (२०११–१२ साल) मा राजा महेन्द्र वीरविक्रम शाह राजा हुँदा ३५ वर्षकै थिए, २०२८ सालमा राजा विरेन्द्र राजा हुँदा २७ वर्षकै थिए, ज्ञानेन्द्र शाह पहिलो पटक २००६ सालमा राजा हुँदा तीन वर्षको नाबालक उमेरमै राजा भएका थिए भने दोस्रो पटक दरबार हत्याकाण्ड हुँदा ५४ वर्षको उमेरमा राजा भएका थिए भने अहिले उनी ७५ वर्षमा छन् ।

विपी कोइराला २०१५ सालमा प्रथम निर्वाचित हुँदा र बाइसौ प्रधानमन्त्री हुदा उनी ४५–४६ वर्षका थिए, २००७ सालमा गृहमन्त्री बन्दा विपी ३६/३७ वर्षका थिए, २०१५ सालमा प्रतिनिधि सभाको सभामुख कृष्ण प्रसाद भट्टराइ हुँदा उनी ३५ वर्षको थिए, त्यसैगरी गणेशमान सिंह २०१५ सालको क्याविनेटमा रहँदा विपी भन्दा एक वर्ष कम उमेरकै थिए, नेपालको पहिलो बजेट पेश गर्ने अर्थमन्त्री भनेर चिनिने शुवर्ण शमशेर २००७ मा बजेट पेश गर्दा ४० वर्षका थिए, गिरिजा प्रसाद कोइराला २०४७ सालमा प्रम हुँदा ६७ बर्षका थिए ।

२०६३ सालमा चौथो पटक प्रम हुँदा उनी ८२ वर्ष, २०४७ सालमा कृष्ण प्रसाद भट्टराई २९औँ प्रम हुँदा ६५ वर्ष, र२०७० सालमा ३७ औ प्रम सुशील कोइराला प्रम हुँदा ७४ वर्ष थिए, २०५२ सालमा पहिलो पटक प्रम बनेका शेर बहादुर देउवा ४९ वर्ष थिए भने पाँचौ पटक अहिले प्रम हुँदा ७६ वर्षका छन् । यस्तै, पहिलो वामपन्थी प्रम मन मोहन अधिकारी ३१औँ प्रम हुँदा उनी ७४ वर्षका थिए भने २०६६ सालमा ३४औँ प्रम माधव कुमार नेपाल हुँदा उनी ५७ वर्षका थिए । त्यसैगरी झलनाथ खनाल २०६७ सालमा ३५ औँ प्रम हुँदा ६१ वर्षका थिए, अनि केपी शर्मा ओली प्रथम पटक २०७२ सालमा प्रम हुँदा ६४ वर्ष र तेस्रो पटक २०७८ सालमा हुँदा ६९ वर्षका थिए । पुष्पकमल दाहाल २०४४–४५ सालमा नेकपा मशालको महामन्त्री बन्दा ३५–३६ वर्षकै थिए, दाहाल ३३ औँ प्रम २०६५ सालमा बन्दा उनी ५७ वर्षका थिए भने २०७३ सालमा ३९औँ प्रम बन्दा ६५ वर्षका थिए । डा. बाबुराम भट्टराई ३५ औँ प्रम २०६८ मा बन्दा ५७ वर्षका थिए, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुस्पलाल २००६ सालमा पार्टी गठन गर्दा २५ वर्षकै हाराहारी थिए ।

२०४४ सालमा नेकपा मालेको महासचिव मा मदन भण्डारी हुदा ३५ वर्षका थिए, नेकपा मालेको २०३५ सालतिर गठन हुँदा त्यसका महासचिव सिपि मैनाली २७ वर्षका थिए, २०३१–३२ सालको नेकपा चौँथो महाधिवेशनको नेतृत्वमा रहँदा मोहनविक्रम सिंह ३८–३९ वर्षका देखिन्छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षे २०३१ सालमा नेमकिपा अध्यक्ष हुँदा ३४ वर्ष थिए, २०४२ सालमा नेकपा मशालका महासचिव हुँदा मोहन वैद्य पनि ४० वर्षकै हाराहारीमा भएको देखिन्छ । झन्डै २०७० सालतिर नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुनर्गठित गरेका नेत्रविक्रम चन्द पनि त्यो वेला ४० वर्ष हाराहारीकै हुनुपर्छ । केशरजंग रायमाझी नेकपाको महासचिव २०१२–१३ सालमा हुँदा ३६ वा ३७ उमेरकै हाराहारीका थिए ।

विश्व राजनीतिमा उमेर नेतृत्व

भारतका नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री सन् २००१ मा हुँदा ४९ वर्षका थिए र उनी सन् २०१४ मा भारतको चौँधौ प्रधानमन्त्री हुँदा ६४ वर्षका थिए भने हालै उनी ७० वर्षको उमेरमा प्रधानमन्त्री कै रुपमा कार्यरत छन् । रसियाका भ्लादिमिर पुटिन प्रथमपटक सन् १९९९ मा प्रधानमन्त्री बन्दा ४५ वर्षका रहेको र अहिले ७० वर्ष हुदा पनि प्रधानमन्त्रीमै कार्यरत छन् । चिनिया राष्ट्रपति सी चिनफिङ सन् २०१२ सालदेखि देशको राष्ट्रपति, चिनिया कम्युनिस्ट पार्टीको महासचिव र केन्द्रीय मिलिटरी कमिसनका अध्यक्ष छन् । सी चिनफिङ प्रथम पटक राष्ट्रपति हुँदा ५९ वर्षका थिए र हाल ७० वर्षको हाराहारीमा छन् ।

अमेरिकाका रास्ट्रपति ओबामा सन् २००९ मा अमेरिकाको ४४ औँ राष्ट्रपति हुँदा ४८ बर्षका थिए भने दोस्रो कार्यकाल सन् २०१७ मा बिदाइ हुँदा ५६ वर्षका थिए । अहिलेका अमेरिकी रास्ट्रपति जोइ वाईडेन सन् २०२१ मा ४६ औँ राष्ट्रपति हुँदा ७९ वर्षका थिए र अहिले उनी ८१ वर्षमा छन् । अमेरिकाका ४५ औँ रास्ट्रपति डोनाल्ड ट्रम्प सन् २०१७ मा ७१ वर्षका थिए । जर्मनकी चर्चित राजनीतिज्ञ एन्जेला मार्कर सन् २००५ मा चान्सलर हुँदा ५१ वर्षकी रहेकी थिइन् भने २००२१ मा विदाई हुदा उनी ६७ वर्षकी थिइन् । हालैका जर्मन चान्सलर ओलाफ सोल्जले सन् २०२१ मा चान्सलरको सपथ लिदा ६३ वर्ष उमेरका देखिन्छन् ।

सिंगापुरका लि क्वान यूले सन् १९५९ मा ३६ वर्षदेखि सन् १९९० सम्म ३० वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले र सिंगो सिंगापुरको विकास र समृद्धिमा कायापलट गराएदिए । उनी ७७ वर्षको उमेरसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । मानव जातिको इतिहासमा मलेसियाको राजनीतिमा महाथिरले उमेर हदबन्दीको राजनीतिलाई चुनौती दिए । ९३ वर्षको उमेरमा सन् २०१८ सालदेखि २०२० सम्म चौँथो र सातौँपटक प्रधानमन्त्री भएर विश्व राजनीतिक इतिहासमा नया आयाम थपे ।

निष्कर्ष

समग्रमा, घरेलु र अन्तराष्ट्रिय राजनीतिक अभ्यासमा युवा समूहलाई नेतृत्व नदिइएको होइन । तरपनि विचारविहीन जुनसुकै उमेर समूहको राजनीतिक व्यक्तित्वलाई जिम्मेवारी दिएर राष्ट्रिय समस्या समाधान हुने होइन । युवाले नेतृत्व गरे कायापलट भैहाल्छ भन्ने भाष्य सृजना गरेर अहिले राजनीतिक सिद्धान्त, एजेन्डा, आदर्श, मूल्य र नैतिकताको प्रश्नलाई गौण ठान्ने र राजनीतिमा विचारविहीन, योजनाविहीन, प्रचारमुखी र सेलिब्रेटी समूहलाई हावी दिने प्रवृत्ति बढ्ने सम्भावनालाइ इन्कार गर्न सकिन्न । विश्वका शक्तिशाली र विकसित मुलुकहरुको राजनीतिक उमेर समुह देशको आवश्यकता हो न कि पपुलिस्ट विचार ।

यस्तो दुषित राजनीतिक वातावरणमा नयाँ जेलेभेन्स्की जन्मने त होइन भन्ने सतर्कता अपनाउनुपर्ने हुन्छ । यसको मतलब स्थापित दलहरुले नेतृत्व हस्तान्तरण गर्नु हुन्न भन्ने कदापी होइन । दलहरुले बरु पात्र र प्रवृत्ति फेर्नुका साथै गलत मोडमा ढल्कन लागेको राजनीतिलाई आवश्यक्ताअनुसारको सक्षम र दुरदृष्टि सोचको उमेर समूहलाई दलहरुले जिम्मेवारी दिनु र संरचना र प्रणालीमा भएका कमजोरीहरु सुधारेर अघि बढ्नु पर्ने उत्तम विकल्प हो । उमेर समूहको हदबन्दी सरकारी जागिरको सवालमा लागू हुन्छ तर राजनीति समाजसेवा हो । जुन सेवा गर्न उमेर हदबन्दी हुनुहुदैन । स्वच्छ छवी, स्वस्थ शरीर, क्रियाशील र भिजनरी व्यक्ति जो सुकैलाई पनि राजनीतिमा खुला हुनुपर्छ।

अत : युवा हुँदैमा भिजनरी हुने र पाको उमेर हुँदैमा अदुरदृस्टी भइहाल्ने, फेरी बूढो हुँदैमा सबैमा परिपक्वता भइहाल्ने र युवा हुँदैमा अदुरदृस्टी भइहाल्ने अतिवादी दुवै खाले भाष्य सर्वमान्य र सर्वव्यापी कदापी होइन । राजनीतिक नेतृत्वमा उमेरको बुझाइ सापेक्ष हुनुपर्छ, निरपेक्ष होइन । घरेलुदेखि विश्व राजनीतिका विभिन्न देश र राजनीतिककर्मीहरुको इतिहास हेर्दा उमेर सापेक्षताको सिद्धान्त प्रष्ट हुन्छ । नागरिक भइसकेपछि उसलाई आफ्नो क्षमता र कार्यकुशलताअनुसार राजनीतिक दल र निकायमा राजनीतिक अधिकार प्रयोग गर्न पाउनु उसको नैसर्गिक अधिकार हो ।

  • June 27, 2022 प्रकाशित
  • सम्बन्धित