कविताको तिर्खा मेट्ने ‘घर फर्कने तिर्खा’
  • आविष्कार कला

विष्णु आचार्य “अतृप्त”, दैनिक रोजीरोटीको पेसा नेपाल विद्युत प्राधिकरण । जीवनको लामो समय नेपाली साहित्यको अध्यापनमा समय खर्चिनुभएको । अतृप्तलाई नेपाली साहित्यको मलजल गर्नका लागि हृदयले निरन्तर निर्देश गरिरहेको देखिन्छ । वर्तमान नेपाली छापा तथा अनलाइनहरुमा अतृप्तको साहित्यिक सक्रियता लोभलाग्दो देखिन्छ । कवि अतृप्तले “घर फर्कने तिर्खा” कवितासङ्ग्रहमार्फत नेपाली कविताको भण्डारमा नयाँ कृति दिइ आफ्नो दर्बिलो उपस्थिति प्रमाणित गरेका छन् ।

घर फर्कने तिर्खामा जम्मा ४८ थान कविता सङ्गृहीत रहेका छन् । उनका कवितामा सर्वत्र देशप्रेम, मानवतावाद, विद्रोह, प्रकृतिप्रेमको रुझान देख्न सकिन्छ । कवितासङ्ग्रह “परदेशीको पत्र” शीर्षकको कविताबाट आरम्भ भई “बाघ बाहिरिए पछि” कवितामा गएर समाप्त भएको छ । पुस्तकमा सङ्गृहीत पहिलो, दोस्रो र तेस्रो कविता नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका कविताहरु रहेका छन् ।

यस कविता सङ्ग्रहमा कविले कतै प्राकृतिक विपत्तिको अत्यासलाग्दो चित्र प्रस्तुत गरेका छन् त कतै प्राकृतिक सुन्दरतालाई जगेर्ना गर्दै व्यवस्थित आधुनिक विकास गर्ने सन्देश प्रवाह गर्न खोजेका छन् । साँच्चै व्यवस्थित आधुनिक विकास भए नेपाली धर्ती कस्तो हुने थियो होला ? कविले प्रश्न गरेका छन् ।

उनका कवितामा मानवलाई प्रकृति जस्तै क्रियाशील हुन आव्हान गरिएको छ । जसबाट देश र जनता सधैँभरि जीवित हुने थिए भन्ने सन्देश कवितामा दिन खोजिएको छ । काँडादेखि सावधान कवितामा नेपाली जनहरुले भोगिरहेको यथार्थताको नयाँ रुप देखाइएको छ । प्राकृतिक वृक्षरुपी काँडाहरु मात्रै होइन मानवरुपी शासकीय काँडाहरुबाट देश र जनतालाई कोर्तने(चिथोर्ने व्यवस्थाको पीडादायी यथार्थ पनि कवितामा पाइन्छ ।

अनियमितता, अस्तव्यस्तता र नीति नियमभन्दा बाहिर रमाउने नेपाली समाजमा चलेको पाखुराको राजनीति पनि कवितामा आएको छ । दैनिक प्रशासन चलाउंदा भोग्नु परेको प्रशासनिक निरीहता पनि कवितामा प्रस्ट आएको छ । देश कसले चलाएको छ ? त्यो पनि कवितामा आएको छ । देश निरन्तर चल्ने प्राणवायुबाट होइन फागुनमा चल्ने हावाले चलाएको आशयका कविताहरु पनि सङ्ग्रहमा आएका छन् जसबाट नेपाली समाजको वास्तविकता सहजै बुझ्न सकिन्छ ।

कवितामा नेपाली जनता कसरी चिथोरिएका, लुछिएका र ठगिएका छन् देखाइएको छ । जनताका छोराछोरीलाई अनाहकमा अल्पायुमा प्राण फाल्न उचाल्ने नेतृत्वलाई कविताले कसिलो व्यङ्ग्य गरेको छ । आधुनिक नेपाली समाज कस्तो बनाउने, इतिहास भजाउने कि वर्तमान सजाउने ? आम जनतालाई खुल्ला प्रश्न कविता मार्फत कविले सोधेका छन् ।

पत्थरको मूर्ति मन्दिरमा बसेपछि तिर्थालुमाथि गरेको शासनभन्दा कडा शासन जनप्रतिनिधिले जनतामाथि नै गरेको प्रसङ्ग कवितामा आएको छ । सामाजिक फरकपन, उत्ताउलोपन, सामाजिक व्यवहारको फरक फरक रुप कवितामा आएको छ ।
मनमा हार्दिकता नभएको वर्तमान समयमा हार्दिक श्रद्धान्जली लेख्न आतुर वर्तमान नेपाली समाजले जीवनको संघर्ष पीडामा साथ दिएर अगाडि बढाउन किन हिम्मत गर्दैन ? हामीले श्रद्धान्जली दिएर संसारबाट बिदा गर्ने कि जीवनमा शुभकामना दिएर प्रगतिका पाइला चाल्न उत्प्रेरित गर्ने ? कविले कविता मार्फत प्रश्न गरेका छन् ।

ढुङ्गाको मन जस्तो कठोर मन भएका मानिसहरु स्वार्थमा ढुङ्गा पानीमा डुबे झै डुब्छन् तर समाज र देशको काममा किन डुब्दैनन् आजको बुद्धिजीवि मान्छे ? मनमा उर्लिरहेका सबै भावनाहरु कविता बन्न सक्तैनन् । त्यसको उदाहरणको रुपमा कविले नेपालको बजेट कार्यान्वयन नहुने वास्तविकता पेश गरेका छन् । कामना गरौं बजेट कार्यान्वयन होस् नेपाली मनमा उर्लिएका भावनाहरु सबै कविता बनून् ।

वर्तमान समयमा मजदुर वर्गलाई जिस्क्याएर नवधनाढ्य वर्गले मनाउने कृत्रिम मजदुर दिवसको सन्दर्भलाई लिएर कविले समाजिक अस्तव्यस्तता माथि प्रहार गरेका छन् । फूल भनेपछि औधि रमाउने मान्छे धुलोमा फूल रोप्छ तर धुलो मन पराउंदैन, कसिङगरका रुपमा आउने धुलो हटाउन तयार हुँदैन चाहे त्यो धर्तीको धुलो होस् चाहे मनको धुलो । यसमा हामी कसरी धुलो विहीनताको कल्पना गर्न सक्छौं ?
सामाजिक व्यवहार संचालन पद्दतिका बारेमा कविले बोलेका छन् । कठोर भए न समाज चल्छ न जीवन, फेरि नरम र प्रजातान्त्रिक भैदिऊं समाजले गर्नै नमिल्ने व्यवहार बढी गर्छ । पीडादायी ब्यवहार यति धेरै गर्छ कि पीडकले नै पीडितलाई गिल्ला गर्दै भन्छ कति सहन्छस् हो हाम्रो व्यवहार ! कविले पीडक बनेर गरेको प्रस्तुति कवितामा पाइन्छ ।

चुनावी समयको वास्तविकता चित्रण गर्दै चुनावको बेला कसैलाई सानो नसम्झन कवितामा आग्रह गरिएको देखिन्छ । प्रजातान्त्रिक अभ्यासमा सबै समान हुने तर लोकतन्त्र र गणतन्त्रको नाममा हुने प्रजातन्त्रको व्यवहारिक प्रयोगमा समानता नहुने, गरिब निमुखा माथि गरिने निम्न स्तरकोे व्यवहार बारे कवितामा होसियार भनिएको छ ।

भाषणबाजहरुले आफूलाई केन्द्रमा राख्ने तर जनतालाई भने भिन्न रङ्गिन सपना देख्न प्रतिबन्ध लगाउने गरेको दृष्टान्त पनि कवितामा आएको छ । नेपाली जोश विदेसिन परेको यथार्थलाई समेट्दै शासकलाई खबरदारी गर्ने कविता पनि कृतिमा छन् । मुलुकमा भोलि जनता र कार्यकर्ता बिनाको नेता र शासक हुने सम्भावना बढ्दै गएकोले बेलैमा होस् गर्न शासकलाई कविताले अनुरोध गरेको छ । कहिले उत्तरदायी हुने नेपाली नेतृत्व नेपाली जनजीवन र जनजिविकासँग ? कविले शासक बनेका र बन्न खोग्ने भोलिका शासकलाई खबरदारी सहित प्रश्न गरेका छन् ।
डरको सबैभन्दा ठूलो स्रोत बाहिर जाने सूचनाहरु नै हो । कविले मित्रताको व्यवहारमा व्यक्त गरिने सूचनालाई प्रति पनि सचेतता अपनाउन सम्झाएका छन् । कोरोना काल जस्तै हरेक विपत्तिमा भोलिको सुन्दर संसारका लागि आज बाचौँ भन्ने चेतना दिएका छन् ।

वर्तमान समयको कविता लेखांै, यथार्थको कविता लेखौं कवितामा कविले भनेका छन् । अहिले भड्किलो तरिकाले पर्व मान्ने चलनलाई चार दसक अगाडिको आफ्नो बाल्यकालीन दशैँसँग तुलना गरेका छन् । कृषि फसलले भरिपूर्ण गाउँ टोल खुसीयाली निस्फ्रिकी स्वतन्त्रताका दिनहरु कवितामा आएको छ ।

त्रिशूलीको दायांबायां र त्रिशूलीको पानीमा रमाउँदै आजको समयसम्म आएका कवि अतृप्तको कवितामा देशप्रेम त्रिशूली बनेर बेसरी बगेको छ । कवितामा आमाको अर्ती कविताबाट पवित्र देशप्रेम व्यक्त भएको छ । युगको जिम्मेवारी बोकेको वर्तमान पुस्तालाई सचेत रहन आव्हान गरिएको छ । नेपाली मौलिकता सहितको क्रान्ति भनेको पसिनाको क्रान्ति हो, पसिनाको क्रान्तिमा अगाडि बढ्न कवितामा आव्हान गरिएको छ ।

बहादुरीको छाती देखाउँदै आएको नेपाली समाजले पुर्खाको विरासतको छाती त देखायो भोलिको पुस्तालाई छाती देखाउँदा कुन उदाहरण पेश गर्लान् ? कविले वर्तमानलाई सोधेका छन् । अब नेपालीहरुले आफ्नो जीवन हावा बनाएर बचाउने कि हुरी बनेर दौडने त्यो नेपालीको हातमा छ ।

शहीदको अवमूल्यन प्रतिको आक्रोश पनि कवितामा आएको छ । आजका सबै मानवहरुले चेतना सहित एकैपटक पुनर्जन्म पाए भने भोलि शहीद हुने मान्छे त हुदैनन् नै देश, समाज संचालन गर्ने मान्छे पनि नहुन सक्छ कविले सचेत गराएका छन् । कविले सुन्दर संसार देखेजस्तै शासकले पनि सुन्दर संसार देख्न सक्नु पर्ने आग्रह कविले गरेका छन् । कालो झण्डा देखाउने मानिसको विरोध सम्बोधन हुनसक्छ, कालो झण्डा देखाउने बादलको बारेमा कसरी सम्बोधन गर्ने प्रकृतिवादीहरुलाई कविले प्रश्न गरेका छन् । विश्वको फूलबारी मानिएको नेपाललाई हाम्रै छिमेकी मुलुकले सुगौली सन्धिदेखि नै त्रासदी दिइरहेको यथार्थता पनि कवितामा आएको छ ।

कृतिका कविताहरु कविताको समुन्द्र भेट्न त्रिशूलीको गतिमा अगाडि बढेका छन् । त्रिशूलीले पुरानो बाटो र साथमा लगेका संगीहरु छाडेजस्तो कतैकतै कवितामा अपुगता पाइन्छ । समीक्षाको कलमबाट ती प्रमाणहरु पेश गर्नुपर्छ जुन लेखकको लागि पनि सूचना हुनसक्छ ।
घर फर्कने तिर्खा कवितामा पसिनाको मेची बगाउने मजदुरले बनाएको घरबाट नीलगिरीको सौन्दर्य पिउने कुरा गरिएको छ । नेपालीहरु सीमाभित्र हरेक ठाउँको सौन्दर्यमा रम्न सक्छन् । कवितामा भनेजस्तो नेपाली मजदुर वर्गको विकास त्यति उच्च रुपमा भएको पाईदैन । मेचीमा काम गर्ने मजदुर हरदिन म्याग्दीमा रहेको नीलगिरीको सौन्दर्य हेर्न आउँछ ? यहाँनिर हिमाल र नदीको भौगोलिक सामिप्यता मिलाउन पाएको भए कविताको सौन्दर्य अझ विशाल हुने थियो कि । भविष्यमा देशभर उच्च गतिको रेलको संरचना तयार भई संचालनमा आए कविले वर्तमानमा लेखेको कविताले भविष्यमा पूर्णता पाउँन पनि सक्छ ।

एउटा मौलिक क्रान्तिको उद्धघोष कवितामा नेपाली मौलिकताको गौरवमय इतिहास वर्णन गरिएको छ । वीरका सन्तान, ऋषिमुनीका परिवार र नेपाली गौरवमय इतिहासप्रति सम्मान छ कवितामा । त्यो गौरवमय इतिहास बोकेको नेपाली सुसंस्कृत सभ्यतामा नेपाली इतिहासको लिच्छवीकालीन स्वर्णिम युग समेट्न सकेको भए कविताको स्वर्णिमता नम्बरी र छापाबाल सुनभन्दा कम हुने थिएन ।

घर फर्कने तिर्खामा कविताका पाठकहरुलाई तिर्खा मेट्ने खालका कविताहरु प्रशस्त छन् । कविले कवितामा देश, समाज ,जनता, प्रकृति, मानवीय प्रेम लगायतका विषयवस्तुलाई प्रशस्त सम्बोधन गरेका छन् । त्यसैगरी राजनैतिक व्यवस्थामा देखिएका कुरीति कुसंस्कारलाई पनि निकै चोटिलो पाराले प्रहार गरेका छन् । अतृप्तको पहिलो कविता संग्रह “घर फर्कने तिर्खाले” कविताको पारखीहरुलाई तिर्खा मेट्न अवश्य सफल हुनेछ । आगामी दिनमा यस प्रकारका कृतिहरु कविबाट आइरहुन्, उर्वर र अविचलित लेखन यात्राका लागि हार्दिक शुभकामना ।

 

पुस्तक : घर फर्कने तिर्खा
विधा : कविता
कवि : विष्णु आचार्य “अतृप्त”
प्रकाशक : विद्युतकर्मी साहित्यिक समाज, काठमाण्डौ
पृष्ठ : ११२
मूल्य : २५०।

 

  • June 26, 2022 प्रकाशित
  • सम्बन्धित