लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि छानविन सुरु
  • मूलधार

बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानविन सुरु भएको छ । प्रदेश सरकारले राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठन गरेको कार्यदलले काम सुरु गरेको हो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन टोली मंगलबार नै दाङ पुगेको छ । यो छानविन टोली बुधबार मीना भण्डारी बस्नेतको घरमा गएर घटनाबारे बुझ्ने तयारीमा छन् ।

प्रदेश सरकारको १ असारमा बसेको मन्त्रिपरिषद बैठकले राज्यमन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् ।

राज्यमन्त्री वलीले गएको मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि घरभित्र पसेर कुटपिट गर्नुका साथै दराजलगायत सामान तोडफोड गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आफू र छोरीमाथि कुटपिट भएको भन्दै मीना बस्नेतले इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घरभित्र पसेर आफू र छोरीमाथि कुटपिट भएको तथा दराज फोरेर लत्ताकपडा फाल्ने र च्यात्ने गरेको हुँदा राज्यमन्त्री वलीमाथि कारबाहीको माग मीनाले गरेकी छन् ।

  • June 23, 2022 प्रकाशित
  • सम्बन्धित