भारतका पहिलो वैज्ञानिक राष्ट्रपति अब्दुल कलाम : जो विमानस्थलमा साधारण प्रतिक्षा कोठामा बस्थे
  • मूलधार

मिसाइल म्यान, रकेट म्यान टेक्नो म्यानेजर, मिसाइल म्याजिसियनजस्ता उपनामबाट चिनिएका भारतका पूर्वराष्ट्रपति हुन्, डा. अब्दुल पकिर जैनलुब्दिन अब्दुल कलाम । छिमेकी राष्ट्र भारतमा भू–उपग्रह परियोजना, क्षेप्यास्त्र योजना र आणविक अस्त्र कार्यक्रम तथा लडाकू विमान प्रवद्र्धन योजनामा महत्वपूर्ण योगदान दिएका डा. कलाम जुलाई २४ सन् २००२ मा भारतका राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनले प्रतिरक्षा, अनुसन्धान तथा विकास विभागमा प्रवेश गरेपछि सन् ८० को दशकमा भारतले आणविक क्षेप्यास्त्र, भू–उपग्रह र लडाकू विमान निर्माणमा सफलता पाएको हो । उनले तयार पारेको इण्टिग्रेटेड गाइडेड मिसाइल डेभलपमेन्ट प्रोग्रामको कारण भारतमा पृथ्वी, आकाश, अग्नि, नागजस्ता क्षेप्यास्त्रहरु विकसित भएका छन् । उनी सन् १९९८ मे १ र १३ मा भारतले पोखरनमा गरेको आणविक परीक्षणका निर्देशक थिए । उनको अगुवाइमा भारतले रोहिणी नामक भू–उपग्रह प्रक्षेपण गर्ने सफलता प्राप्त गरेको थियो ।

कर्मलाई आफ्नो साथी ठान्ने अविवाहित डा. कलामको जीवनगाथा प्रेरणादायी देखिन्छ । उनको जन्म सन् १९३१ को अक्टोबर १५ मा तामिलनाडूको रामेश्वरम्मा एउटा गरीब मुस्लिम परिवारमा भएको थियो । किशोरावस्थामा उनी पत्रपत्रिका बेच्ने हकरको काम गर्थे । बाल्यावस्थादेखि नै उनले गान्धीको सिद्धान्त ‘सादा जीवन उच्च विचार’लाई आत्मसात गरे । उनका पिता जैनुलाब्दिल माछा मार्ने पेशामा आबद्ध थिए । उनको शिक्षाको आरम्भ रामनाथपुरको स्थानीय विद्यालयबाट भयो । सेन्ट जोसेफ कलेजबाट विज्ञानमा स्नातक पास भएपछि उनले सन् १९५४–५७ मा मद्रास प्राविधिक प्रतिष्ठानबाट हवाई उडड्यन विषयमा इन्जिनियरिङ पास गरे । सन् १९५८ मा हिन्दूस्तान एरोनटिक लिमिटेडमा भर्ना भई ‘रेडिकल इन्जिन’ र ‘ड्रम अपरेसन’ विषयमा तालिम लिए । उनले सन् १९६० मा अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ को ४ महिने भ्रमण गरि त्यसका अनुभवहरुलाई भारतको अन्तरिक्ष अभियानमा लगाएका थिए ।

उनले सन् १९८१ मा पदमभूषण र १९९७ मा भारत रत्न पदक प्राप्त गरे । उनी आफ्नो काम आफै गर्ने, आफूभन्दा सानालाई माया गर्ने र यात्रा गर्दा स्वदेशी सवारी साधनको प्रयोग गर्ने र विमानस्थलमा साधारण प्रतिक्षा कोठामा बस्थे । एउटा पत्रिका बेच्ने हकरबाट आफ्नो जिन्दगी सुरु गरी अल्पसंख्यक मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै राष्ट्रपतिजस्तो गरिमामय पदमा पुग्ने पहिलो वैज्ञानिक राष्ट्रपति डा. अब्दुल कलाम भारतमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि सदैव चर्चाको शिखरमै रहे ।

  • June 23, 2022 प्रकाशित
  • सम्बन्धित