मुन्दुम ट्रेल : मनको क्यामेरा डुलाउने ठाउँ (भिडियो)
  • मूलधार

काठमाडौं । आउनुस् एकछिन दुःखकाे भारी बिसाएर प्रकृति नियालाैँ, साथी बनाैँ ।  प्रकृतिलाई नियालेर बाेकेका दुःख भुलौँ, बिर्साैँ अनि सोचौँ, रमाऔँ । दुःख भुलाउने प्राकृतिक ठाउँ हामीकहाँ कयौँ छन् । तर, हामी यी चिजभन्दा कयौँ टाढा पाे भयाैँ कि  सायद थाहा नभएर पनि पो हो कि ! थाहा भएर पनि मनमोहक ठाउँ पुग्न सकिरहेको त छैनौँ !

आउनुस्, मुन्दुम पदमार्ग अर्थात मुन्दुम ट्रेललाई नियालौँ । भोजपुर, खोटाङ, सोलुखुम्बु तथा संखुवासभाका सीमाक्षेत्रमा पर्ने मुन्दुम पदमार्ग (ट्रेल) घुम्नैपर्ने १ सय सूचीभित्र उत्कृष्ट स्थानमा छ । नाममै पहिचान, वजन, संस्कृति, मौलिकता झल्किएको यो पदमार्गबाट ८ हजार मिटर अग्ला ६ वटा हिमालको अवलोकन गर्न पाइन्छ ।

पदमार्गको विशेषता भनेकै प्राकृति दृश्य जति हेरे पनि सधैँ हेरिरहुजस्तो लाग्ने । त्यहाँ पुगेपछि त्यहाँनै असिनाजसरी बिलै बिलै लाग्ने, चराझैँ उडेर सबै डाँडाकाँडा चहारौँजस्तो लाग्ने । पदमार्ग पुगेपछि महंगोमा खरिद गरेको क्यामेराभन्दा आफ्नै दुई प्राकृतिक क्यामेराको फोकस बढिहाल्ने । खरिद गरेको क्यामेरा केवल सम्झनाका लागि तस्वीर सजाउन काम लाग्ने तन र मनको क्यामेराले कैद गरेको तस्वीर सदैव रहिरहने । हो, यस्तो छ मुन्दुम पदमार्ग ।

मुन्दुम पदमार्गबाटै विश्वको सर्वाेच्च शिखर सगरमाथा आँखैअघि उभिएजस्तो भान हुन्छ । कञ्चनजंघा, मकालु, ल्होत्से हिमाल जति हेरे पनि नअघाउने । अन्य हिमश्रृंखला त कति हेर्ने ? १ दुई तीन गन्दा गन्दै रात पर्ने ।

यो पदमार्गबाट हिमाल मात्र होइन तराईको भूभाग पनि देखिन्छ । हामीलाई थाहा छ सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका व्यक्ति को हुन् ? तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पनि यहिँ पदमार्ग हिँडेर सगरमाथाको आरोहण गरेका थिए ।

 

यो पदमार्गको अनेकै विशेषतामध्ये एक हो, मैयुङ डाँडा । यो डाँडा ३३३३ मिटर उचाइमा रहेको छ । नाम जस्तो त्यस्तै हेरु हेरु लाग्ने ठाउँ हो यो डाँडा । यस्तै, २९ सय मिटरमा रहेको जलजले मुन्दुम पदमार्ग महत्वपूर्ण सिमसार क्षेत्रभित्र पर्दछ । जैविक विविधताले भरिपूर्ण यस भेगमा रेण्ड पाण्डा, चितुवा, भालु, घोरल, मृगसार, ब्वाँसो आदि जंगली जनावर पाइन्छन् । यस्तै, सयौँ प्रकारण चराचुरुङ्गी र जलचर प्राणीहरु यस सिमसार क्षेत्रमा पाइन्छन् । रावा र बंखुवा खोलाको शीरको रुपमा रहेको जलजले आसपासमा बसोबास गर्ने किरातहरुको पानीको मुहानको रुपमा पनि परिचित छ । यहाँ विभिन्न प्रजातिका गुँरास, सल्ला तथा अन्य जडिबुटीहरु पाइन्छन् ।

यहिँ पदमार्गमा हाँसपोखरी पनि रहेको छ । ३०१५ मिटरमा रहेको यो पोखरीसँगै तारा खसेको पोखरी, धोद्रे, दलसिंगे र मलुवा पोखरी पनि रहेका छन् । यहिँ पदमार्गमा तीन थुम्की २८ सय मिटरको उचाइमा अवस्थित रहेको छ ।

यो पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोद्रे भञ्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्न सकिन्छ। यो पदमार्गको यात्रा गर्न कम्तिमा ९ दिन लाग्छ ।

फाेटाे : सामाजिक सञ्जाल र वेवसाइटबाट साभार गरिएकाे हाे । 

  • June 22, 2022 प्रकाशित
  • सम्बन्धित