स्वतन्त्रविरुद्ध स्वतन्त्र, रवि लामिछानेकाे पार्टी दर्ता नगर्न आयोगमा उजुरी
  • मूलधार

काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवि लामिछाले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डित, राजकुमार बजगाई, पुस्कर शाह र थप एक व्यक्तिले बुधबार लामिछनेको पार्टी दर्ता नगर्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।

उनीहरुले आगामी संसदीय निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा लामिछानेको पार्टीले भ्रम उत्पन्न गराउने भन्दै दर्ता नगर्न निर्वाचन आयोगसँग अनुरोधसमेत गरेका छन् ।

उजुरी पत्रमा भनिएको छ– रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि दिइएको निवेदन उपर हामी विभिन्न ठाउँबाट उम्मेदवार दिन गइरहेका स्वतन्त्र उम्मेदवारहरुको उक्त पार्टीको नामसँग बिमति रहेको जानकारी गराउदछौं ।’

स्वतन्त्र शब्दको आफैमा गरिमा र महत्व रहेको पनि उल्लेख गर्दै लामिछानेको पार्टी दर्ता भएमा जनतामा भ्रम र अन्योल उत्पन्न भइ स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने भन्दै उनीहरुले दल दर्ता रोक्न माग गरेका छन् ।

  • June 22, 2022 प्रकाशित
  • सम्बन्धित