काठमाडौं महानगरको नीति तथा कार्यक्रम: यस्ता छन् स्वास्थ्यका १० बुँदा
  • मूलधार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेदेखि करदाताहरुको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइने उल्लेख गरिएको छ।

हेर्नुहोस स्वास्थयका दश विषय
१.स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिनेछ।

२. महानगरबासीहरुको स्वास्थ्य सेवा प्रवर्धन गर्न सहरी स्वास्थ्य क्लिनिकहरुलाई स्तरोन्नती गरी सहरी स्वास्थ्य केन्द्रमा रुपान्तरण गरिनेछ। शहरी स्वास्थ्य केन्द्र मार्फत महानगरबासीको नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाइनेछ।

३. महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। बीमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ।

४. नागरिक आरोग्यता प्रवर्धन गर्न उपयुक्त आहार, बिहार, ध्यान, योग, प्राणायाम आदिबारे सचेतना कार्यक्रमहरु मार्फत महानगरबासीलाई निरोगी बन्न प्रोत्साहित गरिनेछ। क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरु होटल, रेस्टुरेन्ट, भोजनालय र चमेनागृहलाई त्यस्तो कार्यमा प्राविधिक सहयोग उपलब्ध गराइनेछ।

५. काठमाडौँ उपत्यका भित्र रहेका सरकारी तथा निजी अस्पतालहरुसँग समन्वय तथा सहकार्य गरी विशेषज्ञ चिकित्सक सेवामा सर्बसाधारण नागरिकको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइनेछ।

६. महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा निशुल्क बेडको प्रबन्ध मिलाइनेछ।

७. काठमाडौँ महानगरपालिका भित्र एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ।

८. महानगर क्षेत्रभित्र रहेका सबै प्रकारका स्वास्थ्य संस्थाहरुको अभिलेख व्यवस्थित गरिनेछ।

९. एक विद्यालय एक नर्स र स्कुल सोसियल वर्कर कार्यक्रमलाई आवश्यकता अनुसार विस्तार गर्दै लगिनेछ।

१० आयुर्वेद उपचार पद्धतिलाई प्रबर्धन गरी जनस्वास्थ्य सेवा अभिवृद्धि गरिनेछ।

  • June 20, 2022 प्रकाशित
  • सम्बन्धित